

एजेन्सी ।
अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक ठूलो दुर्घटना टरेको छ । मिउामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको ल्यान्डिङ गियर फेल हुँदा टेकअफ रोक्दा विमानको पछिल्लो भागमा आगो लागेको हो ।
स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे (नेपाली समयानुसार राति २ः३० बजे) घटना भएको हो । विमानमा १७३ यात्रु र ६ क्रु सदस्य थिए। सबैलाई आपतकालीन स्लाइडमार्फत बाहिर निकालिएको छ ।
दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको थियो र एक जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
१२ जुनमा अहमदाबादमा दुर्घटनामा परेको एअर इन्डियाको विमान पनि बोइङ कम्पनीकै थियो। ‘बोइङ ७८७–८’ मोडलको उक्त विमान टेकअफ भएको दुई मिनेटमै दुर्घटना हुँदा २७० जनाको मृत्यु भएको थियो ।
अमेरिकन एयरलाइन्सले टायरमा खराबी रहेकोले विमानलाई सेवा बाहिर राखिएको छ । आगो निभाइसकिएको र मियामी गन्तव्यका यात्रुका लागि नयाँ विमान पठाइएको जानकारी दिएको छ । यस घटनाका कारण दिउँसो २ बजेदेखि ३ बजेसम्म ८७ उडानहरू प्रभावित भएका थिए ।
