

आजकलका स्मार्टफोनहरूमा १२ जीबी १६ जीबी वा २४ जीबीसम्म र्याम देखिनु सामान्य जस्तै भइसकेको छ । यस्तो क्षमता कुनै समय उच्च-स्तरीय कम्प्युटरहरूमा सीमित थियो ।
यसले धेरैलाई एउटा प्रश्न सोच्न बाध्य बनाएको छ: के साँच्चै एन्ड्रोइड फ्ल्यागशिप फोनहरूलाई यति धेरै र्याम चाहिन्छ त ? यो प्रश्नको उत्तर एन्ड्रोइडको मेमोरी व्यवस्थापन र प्रयोगकर्ताको आवश्यकतामा निर्भर गर्दछ ।
एन्ड्रोइडले ‘खाली मेमोरी खेर गएको मेमोरी हो’ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्छ । त्यसैले यसले मेमोरीलाई निष्क्रिय छोड्नुको साटो भर्खरै प्रयोग गरिएका एप र डेटालाई क्याश गरेर उपलब्ध सबै र्याम प्रयोग गर्ने प्रयास गर्दछ । फलस्वरूप तपाईँले सबै एपहरू नखोल्दा पनि र्याम भरिएको देखिन्छ, जुन अधिकतम रेस्पोन्सिभनेसका लागि डिजाइन गरिएको हो ।
फ्ल्यागशिप फोनहरूमा हुने सबै र्याम जरुरी छ त ?
हालका फ्ल्यागशिप फोनहरूमा २४ जीबीसम्म र्याम उपलब्ध भए पनि तपाईँले त्यो सबै र्याम प्रयोग गरिरहनु भएको छ भन्ने हुँदैन । मेसेज पठाउने, वेब ब्राउजिङ र सामाजिक सञ्जाल जस्ता दैनिक कार्यहरूका लागि ८ जीबी र्याम पर्याप्त छ ।
यदि तपाईँ हेभी मल्टीटास्कर वा गेमर हुनुहुन्न भने १२ जीबीभन्दा बढी र्याम तपाईँलाई खासै काम आउँदैन । एन्ड्रोइड अथोरिटीले गरेका परीक्षणहरूले देखाएअनुसार १२ जीबी र्यामले एक दर्जनभन्दा बढी क्याजुअलदेखि जेन्सिन इम्प्याक्ट जस्ता हेभी गेमहरू कुनै पनि एप बन्द नगरी चलाउन सक्षम भएको थियो ।
केही विशेष परिस्थितिहरूमा भने बढी र्याम उपयोगी हुन्छ । सामसङ डेक्स (Samsung DeX) वा स्प्लिट-स्क्रिन (split-screen) मा मल्टीटास्क गर्ने प्रयोगकर्तादेखि गेम, डिस्कर्ड भ्वाइस च्याट र ब्राउजरबिच स्विच गरिरहने गेमरहरूका लागि भने यसको जरुरत पर्न सक्छ ।
यस बाहेक भिडिओ-एडिटिङ एपहरू, जसले हाई-रिजोलुसनका तस्बिर र क्लिपहरू होल्ड गर्न अस्थायी रूपमा ठुलो मात्रामा र्याम खपत गर्छन् । अतिरिक्त र्यामले यी एपहरूलाई अन्य प्रक्रियाहरू बन्द गर्नबाट रोक्छ ।
त्यस्तै अन-डिभाइस एआई मोडलहरूलाई पनि बढी र्याम चाहिन्छ । जस्तै सामसङको ग्यालेक्सी सिरिज वा गुगल पिक्सेल ९ सिरिजका फोनहरूलाई बढी र्याम आवश्यक पर्छ । जसले मसिन लर्निङ र लार्ज ल्याङ्वेज मोडलहरू लोकल रूपमा चलाउन र्याममा लोड निम्त्याउँछन् ।
उदाहरणका लागि गुगलको जेमनाई नानो (Gemini Nano) र सामसङको ग्यालेक्सी एआई (Galaxy AI) फिचरले फास्ट स्पिडका लागि न्युरल नेटवर्कहरूलाई र्याममा लोड गर्छन् ।
र्याम र जेड-र्याम
एन्ड्रोइडले र्याम र जेड-र्याम दुवै प्रयोग गरेर मेमोरी व्यवस्थापन गर्दछ । जसमा र्यामले सक्रिय रेस्पोन्सका लागि भौतिक मेमोरी प्रदान गर्दछ । अर्कोतर्फ जेड-र्यामले भने र्यामको केही भागलाई कम्प्रेस्ड स्वाप स्पेस (compressed swap space) को रूपमा रिजर्भ राख्छ ।
र्याम भरिएपछि एन्ड्रोइडले कम प्रयोग भएका मेमोरी पेजहरूलाई जेड-र्याममा कम्प्रेस गर्छ । उदाहरणका लागि १२८ केबी डेटालाई जेड-र्याममा ६४ केबीमा कम्प्रेस गर्न सकिन्छ, जसले आधा ठाउँ खाली गर्छ । यसले एपहरू क्र्याश हुनबाट जोगाउँछ र स्टोरेजमा लेख्नबाट बचाउँछ ।
र्याम कम हुँदा के हुन्छ ?
यदि र्याम र जेड-र्यामले मेमोरीको माग पूरा गर्न सकेनन् भने एन्ड्रोइडले आफ्नो लो मेमोरी किलर (Low Memory Killer – LMK) सक्रिय गर्छ । प्रणालीले महत्त्वको आधारमा प्रत्येक प्रक्रियालाई स्कोर तोक्छ र कम मेमोरी भएको अवस्थामा कर्नेलले ब्याकग्राउन्डमा रहेका र क्याश गरिएका एपहरूलाई किल गरिदिन्छ । ताकि र्याम खाली गर्न सकियोस् ।
जेड-र्याम प्रयोग गर्दा पर्फर्मेन्समा बल गर्नुपर्छ किनभने प्रणालीले मेमोरीलाई डिकम्प्रेस गर्न सीपीयू प्रयोग गर्नुपर्छ । यदि तपाईँले कुनै एपमा फर्किँदा फोन स्लो भएको महसुस गर्नुभएको छ भने त्यो एन्ड्रोइडले डिकम्प्रेस गरिरहेकोले हुन सक्छ । गेमहरूमा यसले फ्रेम रेट घट्ने वा अड्किने समस्या निम्त्याउन सक्छ ।
यदि स्वाप स्पेस भरियो भने एन्ड्रोइडले एपहरू बन्द गर्छ । त्यसैले जब तपाईँ धेरै एपहरू ओपन राख्नु हुन्छ, पुरानो एपमा फर्कँदा त्यो रिलोड हुन सक्छ । प्रणालीले सामान्यतया पृष्ठभूमिमा रहेको एपलाई किल गर्न रुचाउँछ ताकि अगाडिको एप मेमोरीबाट बाहिरिएर क्रयाश नहोस् ।
