

काठमाडौँ ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिले शीर्ष नेताहरुसँग पनि जानकारी लिने भएको छ ।
साउन १२ गतेसम्मको अवधि पाएको समितिले केही दिन समय थप गरेर तीन दलका शीर्ष नेताहरुसँग पनि बुझ्ने निर्णय गरेको हो । समिति स्रोतका अनुसार संघीय निजामती विधेयकमा कुलिङ्ग अफ पिरियडमा भएको जालझेलका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि सोधपुछ गर्ने भएको हो ।
समिति स्रोतले भन्यो, “यो विषयमा हामीले तीनैजना शीर्ष नेतासँग जानकारी लिने भएका छौं । यो सम्बन्धमा उहाँहरूले जे धारणा राख्नुहुन्छ त्यसलाई प्रतिवेदनको एउटा अंश बनाउने तयारीमा छौं ।”
छानबिन समितिले अहिलेसम्म राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पदमप्रसाद पाण्डे समितिका साथ तत्कालीन सचिव सुरज दुरालगायत थुप्रैसँग सोधपुछ गरिसकेको छ ।
