

एजेन्सी ।
भारतमा वर्षौंदेखि खुलेको एउटा नक्कली दूतावासमा प्रहरीले छापा पारेको छ । कथित राजदूतका रूपमा रहँदै आएका एक व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ ।
’स्पेशल टास्क फोर्स’ (एसटीएफ) को टिमले नोएडाको कविनगरमा सञ्चालित अवैध दूतावास पत्ता लगाएको हो। उक्त दूतावास सञ्चालन गरी आफूलाई राजदूतका रूपमा चिनाउँदै आएका हर्षवर्धन जैन नाम गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी कविनगरकै निवासी रहेको बताइएको छ ।
हर्षवर्धनले आफूलाई वेस्ट आर्कटिका, साबोरगा, पाल्भिया र लोडोनिया लगायतका देशको काउन्सिल एम्बेसडरका रूपमा चिनाउने गरेका थिए । उनले कूटनीतिक नियोगका कर्मचारीले प्रयोग गर्ने सवारी साधनको नम्बरप्लेट समेत प्रयोग गर्दै आएको बताइएको छ । त्यस्ता कैयौं नम्बर प्लेट बरामद भएको प्रहरीको भनाइ छ ।
उनको साथबाट माइक्रोनेशन देशका १२ डिप्लेमेटिक पासपोर्ट, विदेश मन्त्रालयको छाप लागेका दस्तावेज, दुई नक्कली प्यान कार्ड, ४७ लाख भारुभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ । उनले प्रधानमन्त्री तथा राष्ट्रपतिसँगको तस्बिर देखाएर विदेशमा रोजगारी दिलाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीको भनाइ छ ।
