

जनकपुरधाम ।
सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात भएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ । सेवा बन्द हुँदा गाउँ–गाउँबाट आएका बिरामी उपचार नपाएर समस्यामा परेका छन् ।
सोमबार राति दुर्घटनापछि हड्डी भाँचिएर उपचारका लागि आएका एक बिरामीलाई अन्यत्र रेफर गर्ने विषयमा विवाद हुँदा बिरामीका आफन्तले अर्थोपेडिक चिकित्सक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेका थिए । उक्त घटनापछि आक्रोशित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले मंगलबारदेखि ओपीडीसहित सम्पूर्ण नियमित सेवा बन्द गरेका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । उनले घटनाको विरोधस्वरूप आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिए ।
नेपाल चिकित्सक संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । अस्पतालको सेवा अवरुद्ध हुँदा दैनिकजसो टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू मर्कामा परेका छन् ।
