

एजेन्सी ।
इरानले जारी गर्मीको प्रचण्ड लहरका बिच आम नागरिकलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेको छ । सरकारी अधिकारीहरूका अनुसार देश हालसम्मकै वर्षको सबैभन्दा गर्मी साता भोग्दैछ, जहाँ कतिपय क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस पार गरेको छ ।
तेहरानमा आउँदो बुधबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानी ले सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, ‘अत्यधिक गर्मी र पानी तथा बिजुली संरक्षणको आवश्यकतालाई ध्यानमा राख्दै बुधबार तेहरानमा सार्वजनिक बिदा घोषणा गरिएको छ ।’
इरानका विशेष गरी दक्षिणी र शुष्क प्रान्तहरूमा पानी सङ्कटको गम्भीर समस्या भोगिरहेको छ । जल स्रोतहरूको दुरुपयोग, व्यवस्थापनको कमजोरी र जलवायु परिवर्तनका कारण समस्याको दायरा बढेको बताइन्छ ।
तेहरान महानगरपालिकाका अध्यक्ष मेहदी चामरान ले नागरिकहरूलाई पानी जथाभावी प्रयोग नगर्न अनुरोध गरेका छन् । तेहरान पानी व्यवस्था कम्पनीले सार्वजनिक वक्तव्य जारी गर्दै कम्तीमा २० प्रतिशत पानी बचत गर्न अपिल गरेको छ ।
पानी व्यवस्थापन निकायका अनुसार, ‘तेहरानलाई आपूर्ति गरिने बाँधहरूमा रहेको पानीको सतह पछिल्लो सय वर्षको तुलनामा सबैभन्दा कम भएको छ ।’
जलवायु परिवर्तन र वर्षा घट्दा वर्षौँदेखि जलस्तर घट्दो क्रममा रहेको पनि कम्पनीले जनाएको छ ।
इरानी मौसम सेवा अनुसार, आइतबार तेहरानमा तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो भने सोमबार थप बढेर ४१ डिग्री पुग्ने अनुमान गरिएको छ ।
