

बेइजिङ (एजेन्सी) ।
चीनले तिब्बतको यार्लुङ साङपो (जसलाई भारतमा ब्रह्मपुत्र भनिन्छ) नदीमा विशाल बाँध निर्माण सुरु गरेको छ । चीनका प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने उक्त नदीमा शनिबारदेखि विशाल बाँध निर्माणको शिलान्यास गरेको हो । यो बाँधमध्ये चीनको याङत्से नदीमा रहेको थ्री गर्जेज बाँधभन्दा ठूलो हुनेछ । बाँध निर्माण भएपछि रोकिने पानीका कारण भारत र बंगलादेशका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुनेछन् ।
चीनको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रमा आर्थिक लक्ष्यसँग जोड्न यो परियोजनालाई बेइजिङले डिसेम्बरमा अनुमोदन गरेको थियो । दक्षिणपूर्वी तिब्बतको निङ्चीमा शिलान्यास समारोहपछि अधिकारीहरूले उक्त परियोजनाअन्तर्गत उत्पादन हुने विद्युत्बाट तिब्बतमा विद्युत्को मागलाई पूरा गर्ने दाबी गरेका छन् । उत्पादित बिजुली मुख्यतया खपतका लागि अन्य क्षेत्रमा प्रवाह गरिनेछ भने तिब्बतको स्थानीय विद्युत् आवश्यकतालाई पनि पूरा गरिनेछ ।
यस परियोजनामा पाँचवटा जलविद्युत् केन्द्रहरू निर्माण हुनेछन् । जसको लगानी लगभग १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ । गत जनवरीमा भारतले तिब्बतमा यस परियोजनाका बारेमा चीनसँग चासो व्यक्त गरेको र ‘भारतीय हितको रक्षाका लागि आवश्यक कदम चाल्ने’ बताएको थियो । भारतको विदेश मन्त्रालयले भनेको छ, ‘चीनलाई यो सुनिश्चित गर्न आग्रह गरिएको छ कि ब्रह्मपुत्रको तल्लो तटीय राज्यहरूको हितमाथिको गतिविधिले क्षति नपुर्याओस् ।’
गत डिसेम्बरमा बेइजिङको विदेश मन्त्रालयले यो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक प्रभाव नपार्ने बताएको थियो । साथै, चीनले नदीको तल्लो भेगका देशहरूसँग पनि सम्पर्क कायम राख्ने बताएको थियो । पर्यावरणविद्हरूले पर्यावरणीय दृष्टिले संवेदनशील तिब्बती पठारमा यस्ता ठूला परियोजनाहरूको अपरिवर्तनीय प्रभावबारे पनि चेतावनी दिएका छन् ।
