

जनकपुरधाम ।
जनकपुरधामको एक होटेलमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । हत्या पश्चात ती युवकलाई एक तला माथिबाट खसालिएको अवस्थामा फेला पारिएको हो ।
धनुषा प्रहरीले जनाएअनुसार हत्या भएका व्यक्ति महोत्तरी गाउँपालिका–१, पर्साका २८ वर्षीय बिमलेश यादव हुन् ।
घटना शनिबार राति करिब ३ बजेतिर जनकपुर उपमहानगरपालिका–२१ स्थित होटल एसपी एन्ड गेस्ट हाउसमा भएको हो । यादवमाथि धारिलो हतियार प्रहार गरिएको र त्यसपछि उनलाई होटलको एक तला माथिबाट खसालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थामा फेला परेका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याइएको थियो । तर, उपचारका क्रममा आइतबार बिहान ७ः४५ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार बिमलेश यादव सो रात एक युवतीसँग होटलमा बसेका थिए । प्रारम्भिक अनुसन्धानमा सो युवतीले नै हत्या गराएको हुन सक्ने आशंका गरिएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
