Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आज मौसम विभागले भारी वर्षा हुने अनुमान गरेको छ, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन





काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागले आज (साउन ४, आइतबार) व्यापक मात्रामा वर्षा हुने आकलन गरेको उल्लेख गर्दै अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गरेका छन्।

साथै उनले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।’

मौसमविद्का अनुसार रातिदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहानै सूचना जारी गरी गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भइरहेको जानकारी दिँदै सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिनमा: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ।

आज रातमा: गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।