

जनकपुरधाम ।
कीर्ते हस्ताक्षर मुद्दामा पक्राउ परेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई जिल्ला अदालत धनुषाले २ दिनका लागि पुनः म्याद थप गरिएको छ । अहिले अनुसन्धान चलिरहेकाले हिरासतमा राख्नका लागि म्याद थपका लागि अदालतसँग निवेदन गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले मोडेल खबरलाई बताउनुभएको छ ।
परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी कर्मचारीलाई बर्खास्त गरेको अभियोगमा अध्यक्ष साह अहिले प्रहरीको हिरासतमा रहेका छन् । यसअघि पनि अध्यक्ष साहलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा उपस्थित गराएपछि सोमबार ३ दिनको म्याद थप भएको थियो ।
आफ्नो हस्ताक्षर कीर्ते गरी चार जना कर्मचारीलाई बर्खास्त गरेको भन्दै परिषद्कै कार्यकारी निर्देशक पासवानले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले कीर्ते गरिएको भनिएका हस्ताक्षर विधि विज्ञान प्रयोगशाला पठाएर परीक्षण गराएको छ ।
स्रोतका अनुसार हस्ताक्षर कीर्ते गरिएको पुष्टि भएको छ । हस्ताक्षर किर्ते ठहर भएपछि प्रहरीले अध्यक्ष साहविरुद्ध अदालतबाट पक्राउ गर्न अनुमति मागेको थियो । अदालतले गत वैशाख २५ गतेमा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि सम्पर्कविहीन बनेका अध्यक्ष दुई महिनापछि प्रहरीको फन्दामा परेका छन् ।
अध्यक्ष साहले किर्ते हस्ताक्षरको भरमा परिषद्का प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी तथा नासुद्वय मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रहिसकेका साह नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको कोटाबाट परिषद्को अध्यक्ष नियुक्त भएका थिए । केहीदिन अघि मात्रै नेकपा एस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । साह शिक्षकपनि रहि सकेका छन् ।
