

एजेन्सी ।
यमनी नागरिकको हत्या मुद्दामा भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा फाँसी दिइने भएको छ ।
गत वर्ष यमनका राष्ट्रपति रसाद अल–अलिमीले उनको मृत्युदण्ड सजायलाई अनुमोदन गरेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले यस विषयमा नजर राखिरहेको छ र स्थानीय अधिकारी तथा निमिषाको परिवारसँग निरन्तर सम्पर्क गरिरहेको छ । यमनी नागरिक तलाल अब्दो महदीलाई लागुऔषधको ओभरडोज दिएर हत्या गरेको कसुरमा भारतको केरला घर भएकी निमिषा २०१७ देखि यमनको जेलमा छिन् ।
निमिषा र महदी यमनको एक निजी क्लिनिकमा साझेदार थिए । महदीले निमिषाको राहदानी कब्जा गरेको र उनलाई यातना दिएको आरोप छ ।
घटनाक्रम
–२००८ मा केरलाको पलक्कडकी १९ वर्षीया निमिषा प्रिया कामका लागि यमन पुगिन् । उनले राजधानी सानाको एक सरकारी अस्पतालमा नर्सको जागिर पाइन् ।
–२०११ मा निमिषा विवाहका लागि भारत फर्किइन् । उनले कोच्ची निवासी टमी थोमससँग विवाह गरिन् र दुवै यमन गए । त्यहाँ थोमसले इलेक्ट्रिसिएन सहायकका रूपमा काम पाए, तर तलब धेरै कम थियो ।
–२०१२ मा निमिषाले छोरी मिसाल जन्माइन्, तर यमनमा गुजारा गर्न गाह्रो भयो ।
–२०१४ मा थोमस आफ्नी छोरीसँग भारत कोच्ची फर्किए, जहाँ उनले ई–रिक्सा चलाउन थाले । निमिषाले आफ्नो कम तलब भएको जागिर छाडेर क्लिनिक खोल्ने निर्णय गरिन्, तर यमनी कानुनले उनलाई स्थानीय पार्टनर खोज्न बाध्य बनायो ।
–यसै क्रममा निमिषाले कपडा पसल गर्ने महदीलाई भेटिन् । निमिषाले नै महदीकी श्रीमतीलाई बच्चा जन्माउन मद्दत गरेकी थिइन् ।
–जनवरी २०१५ मा निमिषा आफ्नी छोरी मिसाल भेट्न भारत आइन् । महदी पनि उनीसँगै भारत आए ।
–यस समयमा महदीले निमिषाको विवाहको फोटो चोरे । पछि महदीले तस्बिर बिगारेर आफू नै निमिषाको श्रीमान् भएको दाबी गरे ।
–क्लिनिक सुरु गर्न निमिषाले परिवार र साथीभाइबाट करिब ५० लाख रुपैयाँ जम्मा गरिन् र यमन पुगेपछि क्लिनिक सुरु गरिन् ।
–निमिषाले आफ्ना श्रीमान् र छोरीलाई यमन बोलाउन कागजी प्रक्रिया सुरु गरिन्, तर मार्चमा त्यहाँ गृहयुद्ध सुरु भयो र उनीहरू यमन जान सकेनन् ।
यमनमा गृहयुद्ध सुरु भएपछि भारतले त्यहाँबाट आफ्ना नागरिक बाहिर निकाल्न ’अपरेसन राहत’ थाल्यो । यो अपरेसन अप्रिल–मे २०१५ सम्म चल्यो । जसअन्तर्गत ४,६०० भारतीय र लगभग एक हजार विदेशी नागरिकलाई यमनबाट निकालियो, तर दुर्भाग्य ! निमिषा मात्र भारत फर्कन पाइनन् ।
यसपछि २०१६ मा महदीले निमिषालाई शारीरिक दुव्र्यवहार गर्न थाले । उनले निमिषाको क्लिनिकबाट हुने नाफा पनि हडप्यो । जब निमिषाले यसबारे उनलाई प्रश्न गरिन्, तब उनीहरूको सम्बन्ध बिग्रियो । महदी निमिषालाई यमनबाट बाहिर जान दिन चाहँदैनथे, त्यसैले उनले निमिषाको राहदानी आफूसँगै राखे ।
निमिषाले महदीविरुद्ध प्रहरीमा जाहेरी पनि दिइन्, तर महदीले सम्पादित तस्बिर देखाए र निमिषाको पति भएको दाबी गरेपछि प्रहरीले उल्टै निमिषालाई ६ दिन हिरासतमा राख्यो ।
निमिषाले औषधिको ओभरडोज दिइन्, जसले गर्दा महदीको मृत्यु भयो
निमिषा धेरै दुःखी भइन् । जुलाई २०१७ मा महदीबाट राहदानी लिन निमिषाले उनलाई बेहोस बनाउने सुई लगाइदिइन्, तर त्यसले काम गरेन । त्यसपछि निमिषाले महदीलाई ओभरडोज दिन्छिन्, परिणामस्वरूप उनको मृत्यु हुन्छ ।
मिडिया रिपोर्टअनुसार निमिषाले महदीको शव टुक्रा–टुक्रा पारेर पानीट्यांकीमा फ्याँकिदिएकी थिइन् । यसपछि प्रहरीले निमिषालाई पक्राउ ग¥यो । यमनको सर्वोच्च न्यायिक परिषद्ले महदीको हत्या कसुरमा निमिषालाई मृत्युदण्डको सजाय सुनाएको हो । निमिषाले यमनको सर्वोच्च अदालतमा माफीका लागि अपिल गरेकी थिइन्, तर जुन २०२३ मा त्यो खारेज गरियो । यमनका राष्ट्रपति रसादले पनि सजाय अनुमोदन गरे ।
