

काठमाडौँ ।
देशबाहिर रहेका नेपालीले पठाउने रेमिट्यान्सले जेठमा पनि नयाँ रेकर्ड बनाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत जेठमा मात्र १ खर्ब ७६ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसअघि धेरै रेमिट्यान्स गत वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड, फागुनमा १ खर्ब ५१ अर्ब र असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको थियो ।
गएको एघार महिनामा (साउनदेखि जेठसम्म) रेमिट्यान्समार्फत १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १५.५ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको जेठसम्ममा १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने वृद्धिदर १६.९ प्रतिशत रहेको थियो । गत जेठमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
पछिल्ला महिनामा युरोपलगायत आसपासका देशमा धेरै नेपाली गएको र त्यहाँबाट पैसा आउन थालेपछि रेमिट्यान्स बढ्न थालेको नेपाल विप्रेषक संघका पूर्वअध्यक्ष चन्द्र टण्डनले बताए । ‘अहिले युरोपमा नेपालीको संख्या बढेको छ, कोरिया, जापानलगायत देशबाट पनि विगतमा भन्दा धेरै रेमिट्यान्स आएको छ भने मलेसिया, कतारलगायत देशबाट पनि विगतमा जस्तै आएको छ,’ उनले भने, ‘यसबीचमा अमेरिकी डलरको भाउ पनि बढेको छ । यी कारणले पछिल्ला महिनामा नेपाल आउने रेमिट्यान्स बढेको हो ।’ उल्लिखित देशका अर्थतन्त्रमा सुधार आइरहेको र विदेश जाने नेपालीको संख्या पनि बढिरहेकाले आउँदा दिनमा रेमिट्यान्स झनै बढ्ने उनको अनुमान छ ।
युवा बाहिरिने क्रम बढेकाले रेमिट्यान्स आप्रवाह पनि बढेको तथ्यांकहरूले पनि देखाएका छन् । गएको एघार महिनामा वैदेशिक रोजगारीका लागि ४ लाख ५२ हजार ३ सय २४ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) र ३ लाख ८ हजार ६७ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्षको तुलनामा यो धेरै हो । गत आर्थिक वर्षको एघार महिनामा ४ लाख २१ हजार ३ सय ५६ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख ६१ हजार २ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
एक दशकको तथ्यांक हेर्दा पनि हरेक वर्ष रेमिट्यान्स बढेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा सवा ६ खर्ब रेमिट्यान्स आएकामा २०७७/७८ सम्म आइपुग्दा ९ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स आएकामा २०८०/८१ मा १४ खर्ब ४५ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।
निर्यात, पर्यटन, विदेशी लगानीलगायत विदेशी मुद्रा आर्जनका मुख्य स्रोतमा अपेक्षित सुधार नहुँदा पनि रेमिट्यान्स लगातार बढेकाले समग्र अर्थतन्त्रको बाह्य क्षेत्र सबल बन्दै गएको छ । राष्ट्र बैंकको गत जेठको आर्थिक तथा वित्तीय प्रतिवेदनले विदेशी मुद्रा सञ्चिति, शोधनान्तर, चालु खाता लगायत बाह्य सूचक बलियो बन्दै गएको देखाएको हो ।
तर रेमिट्यान्स बढ्यो भनेर मात्र खुसी हुन नहुने अर्थविद्हरू बताउँछन् । अर्थतन्त्र चलायमान बनाउन कुनै प्रयास नगरी रेमिट्यान्स बढ्यो भनेर सरकार आत्मरतिमा रमाइरहेको अर्थविद्हरूको आरोप छ । अर्थतन्त्रको बाह्य क्षेत्र थप मजबुत बनेको छ, जुन हाम्रो कारणले नभएर विदेशी अर्थतन्त्र राम्रो भएकाले हो ।
रेमिट्यान्सबाहेक अर्थतन्त्रका अरू कुनै सूचक राम्रा नभएकाले रेमिट्यान्स बढ्यो भन्दैमा उत्साहित हुन नहुने उनीहरूको भनाइ छ । अर्थतन्त्रमा आएको गतिरोध समाप्त नभएको, आर्थिक गतिविधि चलायमान बन्न नसकेको, कर्जा प्रवाह नबढेको, राजस्व र पुँजीगत खर्चलगायत सरकारी वित्तमा अपेक्षित सुधार नभएको अवस्थामा रेमिट्यान्स बढ्यो भन्दैमा खुसी हुनुपर्ने अवस्था नरहेको जानकारहरूको सुझाव छ ।
रेमिट्यान्ससँगै मुलुकको विदेशी मुद्रा सञ्चितिले ३३ महिनायता निरन्तर रेकर्ड बनाउँदै आएको छ । गत जेठमा यस्तो सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २५.९ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको एघार महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति थप ५ खर्ब २८ अर्ब २९ करोडले बढेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । ‘यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेकामा गत जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।
चालु आर्थिक वर्षको ११ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कम्तीमा ७ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।
बाह्य अर्थतन्त्र लगातार बलियो बन्दै गइरहेको अवस्थामा पछिल्ला महिनाहरूमा आन्तरिक अर्थतन्त्रका सूचकहरूमा पनि सुधार देखिन थालेको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए । ‘सूचकहरू हेर्दा अर्थतन्त्र बिस्तारै लयमा फर्किएको देखिन्छ,’ उनले भने, ‘निक्षेप वृद्धिदर राम्रो छ भने कर्जा प्रवाहमा पनि सुधार आएको छ ।’
यसैगरी, गत जेठसम्म चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले र शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ करोडले र शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा थिए । उच्च रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा कीर्तिमान बने पनि समग्र अर्थतन्त्र चलायमान छैन । पुँजीगत खर्च, राजस्व संकलन र विदेशी सहयोग तथा अनुदान संकलनमा अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।
गएको ११ महिनामा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो बढेको हो । ०८१ जेठसम्म यस्तो विदेशी लगानी ८ अर्ब २४ करोड थियो । यसैगरी, सर्वसाधारणले खरिद गर्ने सामानको बजार मूल्यवृद्धि दर (मुद्रास्फीति) गत जेठमा औसत २.७२ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो वृद्धिदर ४.१७ प्रतिशत थियो । गत वैशाखको तुलनामा पनि जेठमा मूल्यवृद्धि दर घटेको हो ।
गत जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ०.५४ र गैरखाद्य तथा सेवाको ३.९४ प्रतिशतले मात्र बढेको छ । गत वर्षको जेठमा यी समूहको मूल्यवृद्धि क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको मूल्यवृद्धि १०.०६, गैरमदिराजन्य पेय पदार्थको ५.१३, फलफूलको ३.५१ र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ । तर, तरकारी उपसमूहको मूल्यवृद्धि ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि ९.४३, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८२, शिक्षाको ५.८८, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।
११ महिनामा अर्थतन्त्र
उपभोक्ता मूल्यवृद्धि दर औसत २.७२ प्रतिशत
शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्बले बचतमा
आयात १३.१ र निर्यात ७७.८ प्रतिशतले बढ्यो
विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर
निक्षेप वृद्धिदर १२ र कर्जाको वृद्धिदर ८.७ प्रतिशतले बढ्यो
