Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

४ सय रनको व्यक्तिगत स्कोर नजिक पुगेर पनि मुल्डरले तोड्न चाहेनन् लारा, हेडेन र जयसूर्याको कीर्तिमान





एजेन्सी ।
जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका प्रभावशाली ब्याट्सम्यान वियान मुल्डरले एउटा कीर्तिमान बनाए । तर, उनी अर्को कीर्तिमान बनाउनबाट थोरै अन्तरले चुके । उनी आफैं त्यो कीर्तिमान बनाउनबाट पछि हटेका थिए ।
बुलाबायोमा जारी जिम्बाबे विरुद्धको दोस्रो टेस्टमा उनी कप्तानको भूमिकामा छन् । कप्तानको भूमिकामा यो उनको पहिलो टेस्ट हो । दक्षिण अफ्रिकाले पाँच विकेटको नोक्सानीमा ६२६ रन बनाएपछि वियान मुल्डरले अप्रत्यासित रूपमा पहिलो पाली समाप्तिको घोषणा गरेका थिए ।
त्यतिबेला उनी आफैं अविजित ३६७ रन बनाउँदै खेलिरहेका थिए । थप ३४ रन बनाएको भए उनले वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लाराको नाममा रहेको कीर्तिमान भंग गर्ने थिए । तर, उनले त्यसो गरेनन् ।
आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान लाराको कीर्तिमान तोडिनुभन्दा ३४ रनअघि नै उनले पाली समाप्तिको घोषणा गरे । दक्षिण अफ्रिकाले पाली समाप्तिको घोषणा गरेपछि विश्व क्रिकेटमा विभिन्न टिप्पणी हुँदै आएको छ ।
धेरै क्रिकेट विश्लेषकले पाली समाप्तिको घोषणालाई खराब निर्णयका रूपमा लिएका छन् । वियान मुल्डरले लाराको कीर्तिमान तोडेरमात्र पाली समाप्तिको घोषणा गर्नुपर्ने टिप्पणी गरिरहेका छन् । अहिले आएर वियान मुल्डर आफैंले पाली घोषणा गर्नुको रहश्य खोलेका छन् ।
उनले आफू महान क्रिकेटर लाराको कीर्तिमान तोड्ने पक्षमा नरहेकाले पाली समाप्तिको घोषणा गरको बताएका छन् । ‘यो कीर्तिमान महान खेलाडी लाराकै नाममा जोडिएको सुहाउँछ । चाहेको भए मैले त्यो कीर्तिमान तोड्न सक्थेँ । तर, अझै लामो समय त्यो कीर्तिमान लाराकै नाममा रहोस् भन्ने मेरो चाहना हो,’ उनले भनेका छन् ।
विश्व टेस्ट क्रिकेटको एउटै पालीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान अहिले ब्रायन लाराको नाममा छ । उनले टेस्ट क्रिकेटको एउटै पालीमा अविजित चार सय रन बनाएका छन् । वियान मुल्डरले थप ३४ रन बनाएको भए लाराको कीर्तिमान तोडिने थियो ।
मुल्डरले थप ३३ रन बनाएको भए उनले लाराको कीर्तिमानसँग बराबरी गर्ने थिए । तर, उनले त्यो कीर्तिमान आफ्नो नाममा ल्याउन चाहेनन् । सन् २००४ मा एन्टिगुवामा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा लाराले अविजित चार सय रन बनाएका थिए ।
तर, जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा वियान मुल्डरले अर्को विश्व कीर्तिमान भने बनाए । उनले कप्तानको भूमिकामा आफ्नो ‘डेब्यू’ टेस्टमै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान उनले आफ्नो नाममा पारेका हुन् ।
अविजित तीन सय ६७ रन बनाउने क्रममा उनले केवल तीन सय ३४ बलको सामना गरी चार छक्का र ४९ चौका पनि हिर्काए । टेस्ट क्रिकेटमा पनि उनले सीमित ओभरको प्रतियोगिताजस्तै ब्याटिङ गरेका थिए ।
उनले ग्राहम डाउलिङको कीर्तिमान तोडेका हुन् । न्युजिल्यान्डका डाउलिङले सन् १९६८ मा खेलिएको टेस्टमा भारतविरुद्ध दुई सय ३९ रन बनाएका थिए । कप्तानको भूमिकामा त्यो उनको पहिलो टेस्ट थियो ।
कप्तानको भूमिकामा ‘डेब्यू’ टेस्टमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा वेस्ट इन्डिजका शिवनारिन चन्द्रपौल तेस्रो स्थानमा छन् । उनले सन् २००५ मा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा अविजित दुई सय तीन रन बनाएका थिए ।
‘पहिले जहिले पनि पहिलो नै हुन्छ । लारा यस्तो कीर्तिमान बनाउने पहिलो खेलाडी हुनुहुन्छ । त्यसैले यो कीर्तिमान उहाँकै नाममा जोडिएर रहेको राम्रो हुन्छ । दोस्रो कुरा, लारा महान खेलाडी हुनुहुन्छ र लाराको कीर्तिमान तोड्ने हैंसियत मेरो अझै पुगेको छैन,’ मुल्डर भन्छन् ।
टेस्ट क्रिकेटको एउटै पालीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा अस्ट्रेलियाका म्याथ्यू हेडेन दोस्रो स्थानमा छन् । उनले सन् २००३ मा पर्थमा खेलिएको जिम्बाबे विरुद्धको टेस्टमा तीन सय ८० रन बनाएका थिए ।
यो सूचीमा तेस्रो स्थानमा पनि ब्रायन लारा नै छन् । उनले सन् १९९४ मा एन्टिगुवामा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा तीन सय ७५ रन बनाएका थिए । यो सूचिमा चौथो स्थानमा श्रीलंकाका माहेला जयाबद्र्धने छन् ।
जयाबद्र्धनेले सन् २००६ मा कोलम्बोमा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा तीन सय ७४ रन बनाएका थिए । तर, वियान मुल्डरले लारासँगै हेडेन र जयाबद्र्धनेको कीर्तिमान पनि तोड्न चाहेनन् । त्यसअघि नै उनले पाली समाप्तिको घोषणा गरे ।
जिम्बाबेविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन दक्षिण अफ्रिकाले खेलमा चार सय पाँच रनको अग्रता लिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले केवल पाँच विकेटको नोक्सानीमा ६ सय २६ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको छ ।
जिम्बाबे भने आफ्नो पहिलो पालीमा केवल एक सय ७० रन बनाउँदै अलआउट भएको थियो । फलो–अनमा परेको जिम्बाबेले तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो पालीमा एक विकेट गुमाएर ५१ रन बनाएको छ ।
दुई टेस्टको शृंखलामा भ्रमणकारी टोली दक्षिण अफ्रिका १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई तीन सय २८ रनले हराएको थियो ।