

एजेन्सी ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन् । नेतन्याहूले मंगलबार ह्वाइट हाउसमा ट्रम्पलाई यसबारे जानकारी गराएका थिए ।
नेतन्याहूले भने, ‘म तपाईंलाई मैले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र देखाउन चाहन्छु । यसमा तपाईंलाई शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ, जसका लागि तपाईं पूर्णरूपले हकदार हुनुहुन्छ र तपाईंले यो पाउनु पर्छ ।’
ट्रम्पले मध्यपूर्वमा शान्तिका लागि गरेका प्रयासहरूलाई मध्यनजर गर्दै आफूले यो निर्णय गरेको नेतान्याहूले जानकारी दिएका छन् ।
यसअघि पाकिस्तान सरकारले पनि ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेको छ । भारत–पाकिस्तानबीचको युद्धको सम्भावनालाई रोक्न ट्रम्पले गरेका कूटनीतिक पहल र मध्यस्थताले ठूलो द्वन्द्व टार्न सहयोग पु¥याएको भन्दै पाकिस्तानले ट्रम्पलाई मनोनयन गरेको हो ।
यसअघि ट्रम्पले नोबेल पुरस्कार बारे प्रतिक्रिया दिंदै भनेका थिए, ‘मैले कति युद्ध रोकें, जे गरे पनि मलाई नोबेल दिइँदैन । मलाई चार–पाँच पटकसम्म नोबेल शान्ति पुरस्कार मिल्नु पथ्र्यो । तर उनीहरूले मलाई कहिल्यै दिने छैनन्, किनकि उनीहरूले त्यो पुरस्कार केवल लिबरलहरूलाई दिन्छन् ।’
ट्रम्पले सोमबार पुनः आफूले भारत र पाकिस्तानबीचको ठूलो युद्ध रोकिदिएको दाबी गरेका छन् । साथै उनले कोसोभो–सर्बिया र रूवान्डा–कङ्गोबीचका द्वन्द्व पनि रोकिदिएको बताए ।
ट्रम्पले भने, ‘हामीले धेरै झगडा रोक्यौं, जसमा भारत–पाकिस्तानबीचको ठूलो विवाद पनि पर्छ । हामीले दुवै देशलाई यदि तपाईंहरू लड्नुभयो भने, हामी तपाईंहरूसँग कुनै व्यापारिक सम्बन्ध राख्नेछैनौं भनेका थियौं ।’
उनले थपे, ‘उनीहरू सम्भवतः आणविक युद्धको अवस्थामा थिए । त्यसलाई रोक्नु अत्यन्त जरुरी थियो ।’
आधिकारिक मनोनयन कहिले ?
नोबेल पुरस्कार २०२६ का लागि आधिकारिक मनोनयन प्रक्रिया सेप्टेम्बरमा सुरु हुने बताइएको छ । २०२५ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयनको अन्तिम समय जनवरी ३१ सम्म थियो ।
२०२५ को शान्ति पुरस्कारका लागि ३३८ जना मनोनयनमा परेका थिए, जसमा २४४ व्यक्ति र ९४ संस्था थिए । सन् २०२३ मा २८६ जना मनोनयन भएका थिए भने सन् २०१६ मा हालसम्मकै उच्च ३७६ मनोनयन भएका थिए ।
नोबेल पुरस्कारको वेबसाइटअनुसार, कुनै पनि विधामा मनोनयनमा परेका व्यक्तिहरूको नाम ५० वर्षसम्म गोप्य राखिन्छ । कतिपय देश र संस्थाहरूले आफ्नो मनोनयनलाई सार्वजनिक गर्ने गर्छन् । यसअघि इमरान खानलाई मनोनयन गर्ने संस्थाले सार्वजनिक रूपमा नाम खुलाएको थियो ।
