Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ‘हराएको’ गाडीमा महन्थ





काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको सरकारी गाडी महिन्द्रा स्कोर्पियो हराएको भन्दै गत असार १५ गते गृह मन्त्रालयमा चिठी पठायो। चिठी लेखेको दुई दिनपछि उक्त गाडी श्रम मन्त्रालयमा आइपुग्यो। उक्त गाडी किन हरायो, हराएको बेला कसले प्रयोग गर्‍यो, कसले फिर्ता ल्यायो भन्ने जिज्ञासामा भने मन्त्रालयका उच्च कर्मचारीहरू औपचारिक रूपमा केही बोल्न चाहन्नन् तर एक उपसचिवले भने उक्त गाडी श्रममन्त्री शरतसिंह भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई प्रयोग गर्न दिएको दाबी गरे। ती कर्मचारीका अनुसार ठाकुरले उक्त गाडी निजी प्रयोजनका लागि प्रयोग गर्ने गरेका थिए।

श्रम मन्त्रालयका प्रवक्ता डण्डु घिमिरेले हराएको गाडी खोजिदिन भन्दै गृह मन्त्रालयमा चिठी पठाएको विषय सत्य भएको बताए। ‘तर उक्त गाडी कसले प्रयोग गर्‍यो भन्ने मलाई थाहा भएन तर हामीले गृहलाई चिठी लेखेको दुई दिनपछि उक्त गाडी मन्त्रालयमै भेटियो,’ उनले भने।

स्रोतका अनुसार श्रमले गाडी खोजिदिन भन्दै गृहलाई चिठी लेखेपछि महन्थका सहयोगीहरूले उक्त गाडी मन्त्रालयमा लगेर बुझाएका थिए। श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करले यही असार १४ गते मन्त्रालयको एउटा गाडी हराएको विषयमा प्रशासन महाशाखा प्रमुख निश्चलराज पाण्डेसँग सोधपुछ गरेका थिए। सोधपुछपछि पनि गाडी पत्ता नलागेपछि उनले गृह मन्त्रालयलाई चिठी लेख्न लगाएका थिए।

मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय मन्त्री भण्डारी र सचिव पुष्करबिच मनमुटाव छ। ‘यही कारणले गाडी महन्थले प्रयोग गरेको थाहा पाउँदापाउँदै पनि गाडी खोजिदिन भन्दै उहाँ (पुष्कर) ले चिठी लेख्न लगाउनुभएको हो,’ स्रोतले भन्यो। गृहलाई लेखिएको चिठीमा ‘गाडी जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन’ भन्दै पत्राचार गरिएको छ।

चिठीमा लेखिएको छ, ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरणअनुसारको चारपांग्र्रे सवारीसाधन विगत केही समय अघिदेखि हराइरहेको हुदाँ उक्त सवारीसाधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनहुन मिति २०८२/०३/१४ गतेको (नेपाल सरकार सचिवस्तर) निर्णयानुसार अनुरोध छ।’

लोसपा अध्यक्षको सिफारिसमा भण्डारी दोहोरिएर श्रममन्त्रीमा नियुक्त भएका थिए। स्रोत भन्छ, ‘त्यसैले भण्डारीले ठाकुरलाई गाडी दिएर खुसी गराउन चाहेका हुन्।’ ठाकुरनिकट लोसपाका महासचिव डा. सुरेन्द्र झाले मन्त्रालयले हराएको भनिएको गाडी कहिलेकाहीं पार्टी अध्यक्ष ठाकुरले प्रयोग गर्ने गरेको र एक महिनाअघि नै उक्त गाडी मन्त्रालयमा बुझाइसकेको बताए। ‘उक्त गाडी कहिलेकाहीं पार्टी अध्यक्षज्यूले प्रयोग गर्नुहुन्थ्यो। तर हामीले पहिले नै मन्त्रालयमा बुझाइसकेका थियौं,’ झाले भने।

उनले थपे, ‘गलत सूचना प्रवाह भएर मन्त्रालयका सचिवज्यूले गृहलाई चिठी लेख्नुभएको हो ।’ मन्त्रालयका अर्का एक उपसचिवले भने गृहलाई चिठी लेखेको दुई दिनपछि मात्र उक्त गाडी मन्त्रालयमा आएको दाबी गरे। उनको भनाइअनुसार उक्त गाडी पार्टी अध्यक्ष ठाकुरले नभई ठाकुरकी छोरी डा. मीनाक्षी ठाकुरले चढ्ने गरेकी थिइन् तर महासचिव डा. झाले भने उक्त गाडी मीनाक्षीले नभई पार्टी अध्यक्षले नै प्रयोग गर्ने गरेको बताए।