

जनकपुरधाम ।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र एमाले सचिव रघुवीर महासेठबीच वाकयुद्ध शुरु भएको छ । कांग्रेस नेता निधिले शनिबार पत्रकार सम्मेलन गरी महासेठको नाम नलिई एमालेले गठबन्धनको न्युनतम मूल्यमान्यता पनि पालना नगरेको र राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा अवरोध सिर्जना गरेको आरोप लगाएपछि त्यसको प्रतिवाद महासेठले पनि पत्रकार सम्मेलन मार्फत गरेका छन् ।
महासेठले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणको अवरोधक आफूहरू नभएको दाबी गरे । उनले विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा आफूहरूले अवरोध गरेको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लगाएको आरोपमा सत्यता नरहेको दाबी गरे । उनले जनतामा भ्रम फैलाएर खुरापाती नगर्न निधिलाई सुझाव दिए ।
धनुषा क्षेत्र नम्बर ४ का सांसद समेत रहेका नेता महासेठले, ‘उहाँ समानुपातिक सांसद हुनु हुन्छ चुनाव नै लड्नु छ भने जनतालाई भ्रमित गर्नु हुँदैन । अहिलेदेखि नै खुरापाती गर्नु हुँदैन ।’
निधिमाथि नै आरोप लगाउँदै महासेठले अर्को प्रसंगमा गठबन्धन घटककै एक दुईजना सामानुपातिक सांसदले गठबन्धन तोड्ने खेलमा लागेको आरोप लगाए ।
महासेठले कांग्रेस–एमालको नेतृत्वमा सरकार बनेदेखि नै गठबन्धन तोड्ने प्रयास भईरहेको र त्यसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दैै आईरहेको बताए । उनले प्रचण्डको यो प्रयासमा रास्वपा लगायतका विपक्षी दल, केही स्वतन्त्र सांसद र एक दुई जना गठबन्धन घटककै सांसदहरुले साथ दिईरहेको गम्भीर आरोप लगाए ।
वर्तमान गठबन्धनलाई मन नपराउने गठबन्धन घटककै केही सांसदहरु हुनु हुन्छ, कांग्रेस नेता निधिको नाम नलिई महासेठले भने ‘विदेशी शक्तिको इशारामा मधेसकै एक दुई जना समानुपातिक सांसद गठबन्धनको विरोधमा काम गर्दै आईरहेका छन् ।’ राजनीतिमा जे पनि सम्भव हुने भएपनि वर्तमान गठबन्धन पछिल्ला गठबन्धनहरुभन्दा राम्रो काम गरिरहेको महासेठको भनाई थियो ।
एक अर्को प्रसंगमा महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरेका छन् ।
यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने पनि उनले बताए । नेता महासेठले भने, ‘बजार हल्ला छ कि अब पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरु कित्ताकाट गरिरहेका छन्, दिनहुँ मिडियामा जुन कित्ताकाटको समाचार आइरहेको छ, त्यसमा कुनै पनि सत्यता छैन । अध्यक्ष र पूर्वराष्ट्रपति बिच कुनै अन्तरविरोध छैन ।’
भण्डारीले सक्रिय राजनीतिमा आउने कुरा गरेको तर कसरी अघि बढ्ने भन्ने केही कुरा नगरेको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षकै सहमति र प्रस्तावमा आउनु हुन्छ ।’
