

एजेन्सी ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसँग सम्बन्धित विधेयक (बिग ब्युटीफुल बिल) अमेरिकाको कंग्रेस (प्रतिनिधि सभा) ले पनि पास गरेको छ ।
यसलाई अमेरिकाको राष्ट्रिय राजनीतिमा ट्रम्पको विजयका रूपमा हेरिएको छ । बीबीसीका अनुसार अमेरिकाको प्रतिनिधि सभाले बिहीबार २१८ को विरुद्ध २१४ मतले ट्रम्पको विधेयक पारित गरेको हो ।
यसअघि यो विधेयक मंगलबार सिनेटबाट पास भएको थियो । राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टी नियन्त्रित कंग्रेसलाई जुलाई ४ सम्म हस्ताक्षर गरी कानुन बनाउन समयसीमा दिएका थिए ।
कंग्रेसको बजेट कार्यालयले यो विधेयकले आगामी १० वर्षमा संघीय घाटा ३.३ ट्रिलियन डलर बढाउन सक्ने अनुमान गरेको छ । साथै यसले लाखौँ मानिसलाई स्वास्थ्य बिमाबाट वञ्चित गर्ने आशंका पनि गरिएको छ । तर यो कुरा ह्वाइट हाउसले अस्वीकार गरेको छ ।
विधेयक पारित भएपछि राष्ट्रपति ट्रम्पले बिहीबार साँझ पत्रकारहरूलाई भने, ‘यो विधेयकले यस देशलाई द्रुत गति दिनेछ ।’ उनले थपे, ‘यो देशका लागि एक महान् विधेयक हुनेछ ।’ यो विधेयक जुलाई ४ मा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बन्नेछ ।
