

काठमाडौँ ।
जनमत पार्टीले दुई जनालाई पार्टीको राष्ट्रिय उपाध्यक्ष पदमा मनोनीत गरेको छ । पार्टीको स्थायी समितिको निर्णयअनुसार कपिलवस्तु मायादेवी गाउँपालिकाका दानबहादुर चौधरी र सप्तरी महादेवा गाउँपालिकाका डा. जयकान्त राउतलाई मंगलबार उपाध्यक्ष मनोनीत गरिएको पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताए ।
राजनीतिक अनुभव र जनस्तरसम्मको प्रभावका आधारमा दुवै नेतालाई उपाध्यक्षमा मनोनीत गरिएको उनले बताए ।
वरिष्ठ नेता दानबहादुर चौधरीले आफ्नो राजनीतिक यात्रा २०३९ मा गाउँको प्रधानपञ्चको रुपमा सुरू गरेका थिए । २०५६ मा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका उनी २०६४ मा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट पनि संविधान सभा सदस्य भएका थिए । उनी उद्योग राज्यमन्त्री, सामान्य प्रशासन राज्यमन्त्री, र महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीसमेत सम्हाली सकेका छन् ।
उपाध्यक्षमा मनोनीत भएका अर्का उपाध्यक्ष राउत राष्ट्रिय परिषद्का अध्यक्ष एवं सङ्गठन विभाग प्रमुख हुन् । उनी राष्ट्रिय योजना आयोगको सदस्य समेत पनि भइसकेका छन् ।
