

काठमाडौं ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
तालुक मन्त्रीलाई नै झुक्क्याएर प्रतिवेदन पेस गरिनु गम्भीर आशंकाको विषय भएको उनको भनाइ छ ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकको प्रतिवेदन संसदमा लैजाने क्रममा हेरफेर भएको हुनसक्ने भन्दै उनले भने, ‘समितिबाट पारित भएको विधेयकलाई म र समितिका सभापति माननीय रामहरि खतिवडासहित माननीयज्यूहरू रघुजी पन्त, दीलेन्द्र प्रसाद बढु, लीलानाथ श्रेष्ठलगायतले मेरै मन्त्रालयमा बसेर असार २ गते हेर्ने अनि संसदमा प्रतिवेदन पेस गर्ने तयारी गरेका थियौँ, तर माननीय सभापतिजीले हामीलाई पत्तै नदिई असार १ गते नै प्रतिवेदन हाउसमा पेस गर्नुभयो । त्यहीँनिर समस्या सृजना भएको जस्तो लाग्दैछ ।’
आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित विधेयकमा ‘कुलिङ अफ पिरियड’ को उद्देश्य र आशय नै उल्ट्याउनेगरी अनधिकृत ढङ्गबाट भएको हेरफेरप्रति आक्रोश जनाउँदै उनले भने, ‘यो त सार्वभौम संसदकै अपमान भयो, यो सामान्य घटना होइन । संसदले छानबिन गरी दोषीलाई तत्काल कारबाही गरोस् ।’
विधेयक संसदमा पेस भइसकेपछि पनि कुलिङ अफ पिरियडको व्यवस्था हटाउन निजामतीका उच्च अधिकारीले दबाब दिँदै आएको मन्त्रीको सचिवालयले जनाएको छ । तर, आफूलाईसमेत झुक्याएर बहुचर्चित प्रावधानलाई तोडमोड गरिएपछि मन्त्री विक्षिप्त बनेको सचिवालयको भनाइ छ ।
