Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भैँसीले मार्यो बाघ !





काठमाडौँ ।
सामान्यतया बाघले मानिस तथा अन्य जनावरलाई आक्रमण गरेर मार्छ । तर मकवानपुरमा भैँसीले चाहिँ बाघलाई मार्यो । यो कसरी सम्भव भयो ? धेरैलाई खुलदुली लागिरहेको हुनुपर्छ ।
मकवानपुरको मनहरि गाउँपालिका–६, प्रतापपुरस्थित गोठमा रहेको दुहुना भैँसी बिहीबार बिहानै अत्तालिएर कराएपछि भैँसीधनी बलबहादुर राईको निद्रा खुल्यो । ‘बिहान यस्तै ३ बजेतिर भैँसी अत्तालिएर बेस्सरी करायो,’ राईले भने, ‘भैँसी ब्याएको १ महिना भयो । अस्ति ५ दिनअघि मात्रै पाडो मरेको थियो । त्यसयता बच्चा खोजेर होला प्रायः कराइरहेकै हुन्थ्यो । तर एक्कासि आत्तिएर दाम्लै चुँडालौँलाझैँ गरी कराउन थालेपछि गोठमा हेर्न जाँदा बाघ पो लम्पसार परेको देखेँ ।’
केही दिनदेखि सोही गाउँवरपर डुलिरहेको बाघ खोज्न चितवन राष्ट्रिय निकुञ्जको टोलीले निकै प्रयास गरेको थियो । दुईवटा हात्ती र प्राविधिकसहितको टोलीले फेला पार्न नसकको त्यही बाघ बलबहादुर राईको भैँसीगोठमा पसेको रहेछ ।
बलबहादुर भन्छन्, ‘पाडोको शोकमा रहेको भैँसीले त्यही तोडमा बाघलाई मारेको हुनसक्छ । हामीलाई पनि लात्ता हान्ने, दूध दुहुन नदिने, नौलो मान्छे गोठ वरपर आए दाम्लै छिनालेर हानौँलाझैँ गर्ने भएको थियो ।’
बलबहादुर गोठमा पुग्दा भैँसीको गर्धनबाट रगत बगिरहेको थियो । पाटेबाघ भने हल न चलको अवस्थामा ढलिरहेको थियो ।
यो देखेपछि उनले हत्तपत्त वडाध्यक्ष युवराज थपलियालाई खबर गरे । वडाध्यक्ष थपलिया टोलीसहित तुरुन्तै घटनास्थल आइपुगे । थपलियाले निकुञ्जमा खबर गरिदिए । निकुञ्जको टोली पनि केही बेरमै घटनास्थल आइपुग्यो ।
‘अचेत अवस्थामा रहेको बाघ मरिसेकेको रहेछ । हामीले त बेहोस भएको होला भनेर हेर्नै डराइरहेका थियौँ’, वडाध्यक्ष थपलियाले भने, ‘बाघ बूढो रहेछ । केही दिनदेखि गाउँवरपर नै घुमिरहेको थाहा थियो । गाउँका सबै त्रसित थिए । रातमा शिकार गर्न आएको बाघ नै पो मरेछ ।’
चितवन राष्ट्रिय निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गर्दा बाघ बूढो भएकाले भैँसीले हान्दा मरेको अनुमान गरेको छ । घरपालुवा जनावरलाई बाघले मारेका घटना थुप्रै हुने गरे पनि घरपालुवा जनावरले बाघ मारेको घटना भने पहिलोपटक थाहा पाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन बताउँछन् ।
‘भैँसीले नै बाघ मारेको घटना त यसअघि घटेको थिएन’, पुनले भने, ‘बाघ निकै दुब्लो रहेछ । शिकार गर्न नसक्ने अवस्थामा पुगेको उक्त बाघ बिरामीसमेत रहेको पाइयो । घाँटीभन्दा तल गर्धनमा दुईवटा घाउ रहेछन् । त्यसमा कीरा परिसकेको रहेछ । बाघ आफैँ कमजोर अवस्थामा रहेका कारण भैँसीकै आक्रमणबाट मरेको होला ।’
निकुञ्जअन्तर्गतको सेक्टर सौराह ब्यारेकबाट आएको नेपाली सेनाको टोलीले मरेको बाघलाई निकुञ्जको कार्यलयमा ल्याइदिएण्को निकुञ्ज प्रमुख पुनले बताए ।