

एजेन्सी ।
इजरायल र इरानबीचको युद्ध चौथो दिनमा प्रवेश गरेको छ । इजरायलले शुक्रबार इरानी आणविक केन्द्र, सैन्य अखडा र बस्तीमा आक्रमण गरेर लडाइँको सुरुवात गरेको थियो । इरानले ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रद्वारा जवाफ दिएको थियो ।
युद्ध चौथो दिनमा प्रवेश गर्दा २२४ इरानीले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसमध्ये पहिलो दिन १२८ जना मारिएका थिए । जसमा इरानी सेनाको नेतृत्वदायी टोलीदेखि आणविक वैज्ञानिक र सर्वसाधारणसम्म छन् ।
१ हजार २७७ जना घाइते भएको इरानको भनाइ छ । इजरायलतर्फ भने मारिनेको संख्या २४ पुगेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । स्वस्थ्य अधिकारीहरूले ३०० जना अस्पतालमा रहेको बताएका छन् । पछिल्लो आक्रमणमा आठ जना मारिएका छन् ।
इजरायलको हवाइ प्रतिरक्षा प्रणाली बलियो मानिँदै आएको थियो । तर, इरानी क्षेप्यास्त्रहरूले तिनलाई पार गरेर तेल अभिभ, हाइफाजस्ता सहरमा ठूलो क्षति पु¥याएका छन् । यसबाट इजरायली आम मानिस चकित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारी अधिकारीहरूले भने प्रतिरक्षा प्रणालीले राम्रो काम गरिरहेको तर कुनै पनि प्रणालीले सत प्रतिशत क्षेप्यास्त्र रोक्न नसक्ने बताइरहेका छन् ।
इजरायलले इरानी राजधानी तेहरानको आकाशमा कारबाहीको पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गर्ने इजरायली प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । ट्रम्पले इजरायल र इरानलाई संवादमा जुट्न आग्रह गरेका छन् ।
तर, इरानी अधिकारीहरूले इजरायली आक्रमण जारी रहँदा वार्ता सम्भव नभएको जवाफ दिएका छन् ।
