

काठमाडौँ ।
प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आज आइतबारको बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।
जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो ।
विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको छ । यी दुवै विषयमा सत्तापक्ष दुई दलसहित अन्य दलले पनि असहमति जनाउँदै आएका छन् । निजमती कर्मचारी संघ संगठनले पनि उक्त प्रावधान हटाउनुपर्ने मागसहित आन्दोलन जारी राखेका छन् ।
मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर समितिले राखेको प्रस्ताव हटाउन माग गरेका थिए ।
