Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रतिनिधिसभामा संसदहरुले उठाए संसदीय मर्यादामाथि प्रश्न





काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विषयमा सांसदहरूले आ–आफ्ना धारणा राखेका छन् । बैठकमा रवि लामिछानेसँग सम्बन्धित मुद्दा, सदनको मर्यादा र यार्सागुम्बाको संरक्षणबारे आवाज उठाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले सदनमा भइरहेका अवरोधप्रति आपत्ति जनाउँदै भने, ‘संसद आन्दोलनको शैलीमा चल्न सक्दैन । यो संसदीय प्रणाली होइन। दादागिरी गरेर सदन चलाउने प्रयास गर्नु गलत हो ।’ उनले संसदको गरिमा कायम राख्दै मर्यादित ढंगले सञ्चालन गर्न आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी) की सांसद नगिना यादवले सदन अस्तव्यस्त बनेको भन्दै जनताको आवाज सुनिने वातावरण नबनेको टिप्पणी गरिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन वटा मुद्दा विचाराधीन रहेको भन्दै भनिन्, ‘उहाँमाथि विभिन्न आरोप छन्। तर न पार्टीबाट राजीनामा दिनुभएको छ, न संसदीय दलबाट। आफैं गन्हाइसकेपछि अरूलाई प्रश्न गर्नु कत्तिको उचित हो ?’
यसैगरी, एमालेका सांसद ठाकुरप्रसाद गैरेले पाल्पाको रिङ्वा गाउँपालिकामा यार्सागुम्बा फेला परेको जानकारी दिँदै यस विषयमा वैज्ञानिक अध्ययन र संरक्षणका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराए । ‘पहाडी क्षेत्रमा यार्सागुम्बा भेटिनु दुर्लभ विषय हो। यसको संरक्षण अत्यावश्यक छ,’ उनले भने ।
बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नाराबाजी गरिरहँदा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले यस्तो व्यवहारले सदनको वातावरण बिगार्ने बताउँदै नाराबाजी रोक्न आग्रह गरे । अन्य सांसदहरूले पनि सभामुखसमक्ष सदनको सञ्चालन अवरोध नगर्ने वातावरण बनाइदिन अनुरोध गरेका थिए ।