

काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूको सञ्चालन संरचना कम्पनी वा गुठी दुवै मोडेलमा लैजान सकिने प्रस्ताव अघि सारेको छ ।
शिक्षामन्त्री रघुजी पन्तका अनुसार मन्त्रालय र नेपाल शिक्षक महासंघबीचको सहमति अनुरूप विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई दुईवटा वैकल्पिक संरचना अपनाउने प्रावधान प्रस्ताव गरिएको हो ।
“कम्पनी मोडेल रोज्न चाहनेलाई कम्पनीमा जान दिने, गुठी मोडेल रोज्न चाहनेलाई गुठीमा सञ्चालन गर्न दिने गरी व्यवस्था गरिनेछ,“ मन्त्री पन्तले आज संसद्को शिक्षा समितिमा आयोजित बैठकमा स्पष्ट पारे ।
विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदनमा मन्त्रालयले यही धारणा राखेको हो । यसअघि निजी विद्यालयहरूलाई अनिवार्य रूपमा कम्पनी मोडेलमा दर्ता गराउनुपर्ने प्रस्ताव गरिएको थियो, जसले शिक्षा क्षेत्रका सरोकारवालाबीच विवाद र असन्तोष सिर्जना गरेको थियो ।
नयाँ प्रस्तावले निजी विद्यालय सञ्चालकहरूलाई व्यवस्थापन मोडेल छान्ने स्वतन्त्रता दिने भएकाले यसले शिक्षा क्षेत्रमा देखिएको अन्योलता हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
