

काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले एक साताभित्र नेपालभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मितिभन्दा १५ दिनअघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरिसकेको विभागले जनाएको हो ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार हाल कोशी प्रदेश आसपास मनसुनी प्रणाली सक्रिय छ र त्यो क्रमशः देशका अन्य भागतर्फ फैलिँदैछ । ‘हरेक प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ कँडेलले भनिन्, ‘मनसुनी वायु अहिले कोशीसम्म सीमित भए पनि मनसुन प्रवेशका लागि आवश्यक वातावरण बन्दै गएको छ ।’
उनका अनुसार अबको एक साताभित्र नेपालभर मनसुन सक्रिय हुने संकेत देखिएको छ । देशका अधिकांश भागमा केही दिनदेखि भइरहेको वर्षा क्रमशः तीव्र हुँदै जाने उनले बताइन् ।
यस वर्ष वर्षासँगै अधिकतम र न्यूनतम तापक्रम पनि औसतभन्दा बढी हुने सम्भावना देखिएको कँडेलले उल्लेख गरिन् । ‘हामीले बुधबारदेखि पानी पर्ने संभावना औंल्याएका थियौं,’ उनले भनिन्, ‘सोहीअनुसार अहिले वर्षा गतिविधि बढिरहेको छ र आगामी दिनमा अझ वृद्धि हुने देखिन्छ ।’
