

जनकपुरधाम ।
मधेश प्रदेशका जिल्लाहरू पछिल्लो केही दिन यता असह्य गर्मीको चपेटामा परेका छन् । लगातार पाँच–छ दिनदेखि पानी नपरेपछि तापक्रम एक्कासी बढेको छ ।
चर्को घाम र बिना हावा चलेको गर्मीका कारण दिउँसो बजार सुनसान देखिन्छ । सडक सुनसान, पसलहरू खुला भए पनि ग्राहक हराएका छन् । झन् घरभित्र पनि राहत छैन पंखा चलाउँदा समेत तातो हावा मात्र आउँछ ।
बढी पीडा बाहिर मजदुरी गर्ने कामदारहरूले भोगिरहेका छन् दिनभरको गर्मी उनीहरूका लागि शारीरिक शोषणजस्तै बनिरहेको छ ।
स्थिति यति गम्भीर बनेको छ कि विद्यालयमै विद्यार्थीहरुलाई समस्या हुन थालेपछि जनकपुरधाम, बाराको कलैया, धनुषाको सबैला, पर्साको पोखपरया लगायतका पालिकामा विद्यालयहरू बन्द गरिएका छन् ।
तापक्रम अहिले मधेशका अधिकांश जिल्लामा ३५ देखि ४१ डिग्री सेल्सियसको बीचमा मापन भइरहेको छ । मौसमविद्हरूका अनुसार अझै केही दिन गर्मी जारी रहने सम्भावना छ ।
स्वास्थ्यकर्मीहरू पनि पर्याप्त पानी पिउन, हलुका लुगा लगाउन र अत्यधिक घाममा काम नगर्न सुझाव दिइरहेका छन् ।
