

जनकपुरधाम ।
मधेश प्रदेशको प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले नीति तथा कार्यक्रममा कमला नदीमा नयाँ पुल बनाउने योजना समावेश नगरेकोमा आपत्ति जनाएका छन् ।
नीति तथा कार्यक्रममा भइरहेको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य यादवले सरकारले सम्झौता गरेर पनि नीति तथा कार्यक्रम बनाउँदा बिर्सिएको बताए । ‘मधेशको लाइफलाइन हुलाकी सडकअन्तर्गत कमला नदीमा नयाँ पुल बनाउन युवाहरु अनसन बसेका थिए’, उनले भने, ‘उनीहरुसँग सरकारले कमलामा नयाँ पुलका लागि संघीय सरकारले बजेट नदिए प्रदेश सरकारले बनाउने सम्झौता गरेको थियो, तर मधेशको नीति तथा कार्यक्रम आउँदा कमलामा नयाँ पुलको योजना किन आएन ?’
१३ वर्ष लगाएर बनेको कमला पुल तीन वर्ष अगाडि उद्घाटन नहुँदै भासिएको थियो । त्यो समयमा २४ करोडमा पुल बनेको भन्दै प्रदेशसभा सदस्य यादवले भने, ‘अहिले एकदेखि सवा अर्बमा कमला पुल बन्ने इन्जिनियरहरुको अनुमान छ । मधेश सरकारले के यो पुल बनाउन सक्दैन ?’
कमला नदीदेखि ८०० मिटर उत्तर बनाउने सहमति समेत भएको र सो ठाउँमा पुल बनाएपछि संघीय सरकारसँग अनुमतिसमेत लिनु नपर्ने उनले बताए । प्रदेशसभा सदस्य यादवले कमलामा पुल बन्यो भने मधेशको जीवनरेखा बन्ने बताए ।
