

एजेन्सी ।
परिवार र राष्ट्रिय जनता दल (आरजेडी) बाट निष्कासन भएपछि भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजप्रताप यादवले आइतबार पहिलोपटक प्रतिक्रिया दिएका छन् ।
उनले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘मेरो प्यारो आमा बुबा ! मेरो सम्पूर्ण संसार तपाईंहरू दुईमा अडिएको छ । तपाईं र तपाईंले दिएको कुनै पनि आदेश भगवान्को भन्दा ठूलो हुन्छ । तपाईं हुनुहुन्छ र त मसँग सब थोक छ ।’
‘मलाई तपाईंको विश्वास र माया मात्र चाहिन्छ, अरू केही होइन । बुबा ! तपाईं नभएको भए न यो पार्टी हुने थियो न त जयचन्दजस्ता राजनीति गर्ने कोही लोभी मानिस ! बस्, आमा बुबा, तपाईं दुवै सधैँ स्वस्थ र खुसी रहनुहोस् ।’
गत मे २४ तारिखका दिन विवाहित तेजप्रताप यादव आफ्नो फेसबुकमा परस्त्रीसँग देखिएपछि बदनाम भएको भन्दै उनका बुवा लालु यादवले उनलाई परिवार र पार्टीबाट ६ वर्षका लागि निष्कासन गरेका छन् ।
प्रेमिका भन्दै फेसबुकमा संयुक्त तस्बिर सार्वजनिक गरिएपछि तेजप्रतापको व्यापक आलोचना भएको थियो । त्यसपछि उनले त्यो तस्बिर हटाउँदै एक्स ह्यान्डलमार्फत आफ्नो फेसबुक कसैले ह्याक गरेको दाबी गरेका थिए । तर उनका बुवा बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादवले आफ्ना जेठा छोरा तेजप्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गर्दै परिवारमा पनि कुनै भूमिका नरहने घोषणा गरे ।
तेज प्रतापले सन् २०१८ मा ऐश्वर्या राय नामकी युवतीसँग विवाह गरेका थिए । तर विवाहको केही महिनापछि नै तेजप्रतापले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हाले । जसमा यही जुन २१ तारिख सुनुवाइ हुँदै छ ।
