Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कमला–ढल्केबर–बागमती खण्डको ठेक्का १९ अर्बमा लाग्यो





जनकपुरधाम
महेन्द्र राजमार्ग विस्तार अन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्ड निर्माण गर्न ठेक्का लागेको छ ।
सडक विभागले आइतबार सूचना प्रकाशित गर्दै उक्त खण्ड विस्तारका लागि निर्माण कम्पनी छनोट भएको जानकारी गराएको हो ।
सरकारले कमला–पथलैयासम्म यो खण्ड विस्तार योजना बनाएको छ । तर, बागमती–पथलैया खण्डमा मोडालिटी तय नभइसकेका कारण उक्त खण्डभन्दा अगाडिको खण्डमा मात्र ठेक्का लागेको हो ।
महेन्द्र राजमार्गलाई विभिन्न खण्डमा छुट्याएर चार लेनमा स्तरोन्नति गर्ने काम जारी छ । सोही क्रममा कमला–ढल्केबर–बागमती निर्माणको ठेक्का लागेको हो ।
सडक विभागले चैत २०८० मा ठेक्का आह्वान गरेको थियो । सोही क्रममा एक दर्जनभन्दा बढी निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए । तीन खण्डमा निर्माणको ठेक्का लागेको आयोजनामा एउटा ठेक्का भारतीय कम्पनीले पाएको छ । दुई ठेक्का भने चिनियाँ र नेपाली कम्पनीले हात पारेका छन् । आगामी तीन वर्षमा सम्पन्न गर्ने गरी यी ठेक्का कार्यान्वयन हुनेछन् ।
सडक विभागका अनुसार महेन्द्र राजमार्ग, कमला–ढल्केबर–बागमती खण्डको पहिलो २२ किलोमिटर सडक स्तरोन्नतिका लागि भारतीय कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेड छनोट भएको छ । यो खण्ड ५ अर्ब ७९ करोड ३७ लाख रुपैयाँमा ठेक्का लागेको हो ।
त्यसपछिको २९ किलोमिटर स्तरोन्नतिको जिम्मा चिनियाँ र नेपाली निर्माण कम्पनी सान्सी वाटर रिसोर्स एन्ड हाइड्रोपावर इन्जिनियरिङ ग्रुप (स्वेग) र रसुवागढी कन्स्ट्रक्सन कम्पनी (आरसीसी) जेभीले पाएका छन् । यो खण्डको ठेक्का रकम ६ अर्ब ४३ करोड २५ लाख छ ।
तेस्रो खण्डमा कुल २३ किलोमिटर सडक निर्माणको ठेक्का लागेको हो । यो खण्डमा सोही स्वेग र आरसीसी जेभीले ठेक्का पाएका छन् । यस ठेक्काको रकम ६ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ छ ।
यस प्रकार कमला–ढल्केबर–बागमतीमा कुल ७४ किलोमिटरका लागि ठेक्काको टुंगो लागेको हो ।