

सुजीतकुमार झा
जनकपुरधाम ।
मैथिली विकास कोषको नयाँ भवनको निर्माण कार्य सम्पन्न भएको । सो भवनको जेठ २३ गते पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम तय भएको जानकारी कोषका अध्यक्ष जीवनाथ चौधरीले दिएका छन् ।
समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह, भौतिक पूर्वाद्धार मन्त्री सरोज यादव, कांग्रेसका वरिष्ठ नेताहरुको पनि सहभागिता रहने छ ।
चारतल्ले सो भवन मधेश सरकारको सहयोगमा निर्माण गरिएको छ । ७ करोडको लागतमा निर्माण गरिएको सो भवनमा सांस्कृतिक संग्र्रहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायत रहेको छ । मिथिला चित्रकला, हस्तकला र मूर्तिकलालाई विशेष रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले कोषको भवनमा यी कलाहरूको प्रशिक्षण, प्रदर्शन र बिक्री वितरणको समेत बन्दोबस्त मिलाइने भएको छ । भवनमा लिफ्टको पनि व्यवस्था गरिएको छ ।
५ कट्टा क्षेत्रफलमा बनाइएको सो भवनको चर्चा अहिले निकै भइरहेको छ ।

भवनमा चार सय जना एकै पटक बस्न मिल्ने सुविधा सम्पन्न राजर्षि जनक बैठक कक्ष बनाइएको छ भने अन्य कक्षहरूलाई पनि मिथिलाका विभूतिहरूको नाम दिइएको छ। जसमा मैथिली भवन, विद्यापति कक्ष (अध्ययन तथा अनुसन्धान केन्द्र), जानकी कक्ष (संग्रहालय), डा. धीरेन्द्र कक्ष (प्रशिक्षण तथा वृत्ति विकास), सलहेस कक्ष (आर्ट ग्यालरी), राजर्षि जनक सभाकक्ष, दीनाभद्री कक्ष, शास्त्री कक्ष (सञ्चार तथा प्रविधि), याज्ञवल्क्य कक्ष, मिथिला सहिद कक्षलगायतका १५ वटा कक्षहरू रहेका छन्। मिथिलामा लोप हुँदै गइरहेका पारम्परिक वस्तुहरू जस्तै काठको सन्दुक (बाकस), धान कुट्ने ढेकी, उखर समाठ, धान राख्ने कोठी, भखारी, माटोको चुल्होलगायतका सामग्रीहरूलाई समेत भवनमा अवलोकनका लागि राखिएको जानकारी कोषका अध्यक्ष चौधरीले मोडेल खबरलाई दिएका छन् ।
