

जनकपुरधाम ।
धनुषाको रमदैयास्थित वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ परेकाहरु तेडफोडमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकोे छ ।
विशेष छुटमा नुहाउन पुगेका कक्षा १२ का परीक्षा दिएका परीक्षार्थीहरू आज दिउँसो वाटरल्यान्ड पार्कमा तोडफोड गरेका छन् ।
सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । जनकपुर ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।
झडपको क्रममा प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा पाँचजना प्रहरीलाई समेत चोटपटक लागेको प्रहरीले जनाएको छ ।
विद्यार्थीको भीडले सडकमा चल्ने २ वटा सवारी साधनमा समेत तोडफोड गरेका छन् । पार्कमा लाखौँको क्षति भएको छ । अहिले एकिन विवरण आइसकेको छैन ।
पार्कले नुहाउनका लागि प्रतिव्यक्ति ९०० शुल्क लिने गरेको छ । कृष्ण फाउन्डेसनको सहयोगमा प्रचारप्रसारका लागि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूको लागि जनही १०० रुपैयाँ शुल्क मात्र राखिएको थियो ।
तर नुहाउन निकै संख्यामा विद्यार्थी पुगेपछि आयोजकले भीड सम्हाल्न सकेको थिएन । शुरुमा आयोजकको तर्फबाट बास लिएर विद्यार्थीलाई हिर्काएका थिए त्यसपछि विद्यार्थीहरु आक्रोशित भएको विद्यार्थीहरुले आरोप लगाएको छ । विद्यार्थीहरुले आयोजकलाई कारवाही गर्न माँग गरेका छन् ।
