

काठमाडौँ ।
नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनलाई अझ सशक्त बनाउन शिक्षकहरूलाई आह्वान गरेको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राज्यले सहजै मागहरू पूरा गर्न नचाहेको भन्दै आन्दोलनबिना अधिकार प्राप्त नहुने बताएका हुन् ।
सोमबार राति शिक्षा मन्त्रालयमा भएको लामो छलफलमा कुनै सहमति नजुटेपछि अध्यक्ष सुवेदीले मंगलबार फेरी हामी जम्मा भएको बताए । विभिन्न मागहरूलाई लिएर शिक्षक महासंघले सरकारसँग वार्ता गरिरहेको भए पनि हालसम्म कुनै ठोस सहमति हुन सकेको छैन ।
सोमबार अबेर रातिसम्म सरकार र शिक्षक महासंघबीच वार्ता भएको थियो । वार्तापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले केही काम बाँकी रहेकाले मंगलबार टुंग्याउनेगरी अघि बढ्ने बताएका थिए । ‘हाम्रो वार्ता सकारात्मक रूपमा अघि बढेको छ । केही काम बाँकी छ । यसलाई सकेसम्म एकदमै छिटो टुंग्याउने तयारीमा छौं । सरकार गम्भीर रुपमा अगाडि बढेको छ,’ मन्त्री पन्तले भनेका थिए ।
उनले १२ कक्षाको परीक्षा पनि तोकिएकै मितिबाट सञ्चालन हुने बताएका छन् । सरकारले आन्दोलनरत शिक्षकसँग सहमति जुट्ने बताइरहेका बेला नेपाल शिक्षक महासंघले भने आन्दोलन जारी रहेको बताएको छ ।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पनि शिक्षकहरूले उठाएको मागबारे मंगलबार वा बुधबारसम्ममा सहमति हुने बताएका थिए ।
