

जनकपुरधाम ।
जनकपुरधाम २५ को बभनगामामा एकदिवसीय स्वास्थ्य शिविर सम्पन्न भएको छ । काठमाडौ र जनकपुरधामका विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा भएको सो शिविरमा ३ सय ५० रोगीको निःशुल्क उपचार गर्नुका साथै औषधी पनि वितरण गरियो ।
दी स्किन हस्पिटल एण्ड रिफलर सेन्टर प्रा.लि काठमाडौ सञ्चालित सो शिविरको स्थानीय आयोजक श्री बभनगामा युवा क्लब र स्मशान संरक्षण समूह बभनगामा रहेको थियो ।
शिविरमा काठमाडौका प्रख्यात चिकित्सक प्रा.डा. शेखरबाबु रिजाल, प्रा. अनिलकुमार झा, डा. पद्या तुलाधर, डा. मेघा देव, तथा जनकपुरधामका डा. घनश्याम झा, डा. रमण मिश्रा, हेल्थ असिस्टेन्ट निरञ्जन साह, स्टाफ नर्स मनिता यादवले उपचार गर्नु भएको थियो ।
समारोहमा डा. अनिलकुमार झा र श्री बभनगामा युवा क्लबका अध्यक्ष बसन्त कर्णले वरिष्ठ चिकित्सक डा. पवनकुमार ठाकुरलाई सम्मान गर्नुभयो । डा. ठाकुर जनकपुर र जलेश्वर अस्पतालका प्रमुख रहि सक्नु भएको छ ।
स्कीनका देशकै प्रख्यात चिकित्सकको रुपमा रहेका डा. अनिलकुमार झा प्रत्येक शुक्रवार अनलाइन माध्यमले निःशुल्क उपचार पनि गर्नु हुन्छ ।
‘बभनगामा मेरो जन्मस्थान भएकाले मैले चिकित्सक क्षेत्रमा जे अनुभव हासिल गरेको छु आफनो गाउँ–ठाउँका लागि सेबा गर्न चाहन्छु,’ डा. झाले बताउनुभयो ।
समारोहमा श्री बभनगामा युवा क्लबका अध्यक्ष बसन्त कर्णले चिकित्सक एवं स्थानीयहरुलाई स्वागत गरेका थिए ।


