

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार डेनमार्कको स्वशासित टापु ग्रीनल्यान्ड अमेरिकाका लागि अत्यावश्यक भएको बताउँदै आएका छन् । ट्रम्पले जुनसुकै मुल्यमा ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने बताइरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले ग्रीनल्याण्ड भ्रमण गर्ने तालिका सार्वजनिक भयो ।
भेन्स र उनकी पत्नी उषाको भ्रमण तालिकाले ग्रीनल्याण्ड र अमेरिकाबीचको तनाव थप चर्कीएको छ । सार्वजनिक तालिका अनुसार उषाले ग्रीनल्याण्डको केही दिन बिताउने र त्यसक्रममा राजधानी नुक भ्रमण गर्ने तथा लोकप्रिय वार्षिक कुकुर दौड जस्ता सांस्कृतिक कार्यक्रममा भाग लिने घोषणा गरिएको थियो ।
भेन्स ग्रीनल्याण्ड भ्रमण गर्ने अमेरिकाकै उच्चपदस्थ अमेरिकी अधिकारी भएपनि उनको पत्नीको भ्रमण र लामो तालिकाले ग्रीनल्याण्ड र डेनमार्कलाई रुष्ट बनाएको हो । ग्रीनल्याण्डका कार्यवाहक सरकार प्रमुख मुट एगेडले भ्रमणले ‘उत्तेजना’ फैल्याउने प्रतिक्रया दिए ।
ग्रीनल्याण्ड र डेनमार्कको विरोधपछि भने उनीहरूको भ्रमण तालिकामा हेरफेर गरिएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले भेन्स र उषाले उत्तर-पश्चिमी तटमा रहेको अमेरिकी पिटुफिक अन्तरिक्ष आधार शिविरको निरिक्षणका लागि ग्रीनल्याण्डमा एक दिन मात्र बिताउने जनाएको छ ।
डेनमार्कले भेन्स र उषाको ग्रीनल्याण्ड भ्रमणमा गरिएको परिवर्तनको स्वागत गरेको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले उक्त निर्णय ‘धेरै सकारात्मक’ भएको र अमेरिकी अधिकारीको आफ्नै आधार क्षेत्रको भ्रमण ‘कोहीविरुद्ध नभएको’ बताएका छन् ।
संसोधित कार्यतालिकाले भेन्सविरूद्ध स्थानीयले गर्ने विरोध प्रदशर्नको जोखिम पनि कम भएको छ । पछिल्लो समय ग्रीनल्याण्डमा अमेरिकाविरुद्ध भएका प्रदर्शनहरूमा सयौं मानिसले भाग लिएका छन् । प्रदर्शनका सहभागीले ‘अन्तर्राष्ट्रिय सम्झौताको सम्मान गर’, ‘यान्की घर जाऊ’ लगायतका प्लेकार्डहरू बोक्ने गरेका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावी अभियानदेखि हालसम्म ग्रीनल्याण्ड कब्जा गर्ने आफ्नो धम्की जारी राखेका छन् । ‘ग्रीनल्याण्ड हामीले पाउनु पर्छ,’ बुधबार ट्रम्पले दोहोर्याएका छन्, ‘हामीलाई हाम्रो र अन्तर्राष्ट्रिय सुरक्षाका लागि यो चाहिन्छ ।’
दुई सातअघि ग्रीनल्याण्डका प्रमुख राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ट्रम्पको ‘अस्वीकार्य व्यवहार’ को निन्दा गरेका थिए । प्रधानमन्त्री मुट बी एगेडेले ग्रीनल्याण्डबासीलाई अनादर नगर्न ट्रम्पलाई चेतावनी नै दिएका थिए । ‘ग्रीनल्याण्ड कहिल्यै पनि संयुक्त राज्य अमेरिकाको हुनेछैन र हामी ग्रीनल्याण्डबासीहरू कहिल्यै अमेरिकी हुनेछैनौं । हामीलाई अनादरपूर्ण व्यवहार नगर्नुहोस् । अब त अति भयो,’ उनले फेसबुकमा लेखेका थिए । आफ्नो पार्टीले चुनाव जितेपछि ग्रीनल्याण्डको अर्को नेता हुने सम्भावना रहेका जेन्स-फ्रेडरिक निल्सनले अमेरिकी नेताको भ्रमणले ‘सम्मानको कमी’ भएको देखिएको बताएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ‘पे–पाल’ का सहसंस्थापक केन होवेरीलाई डेनमार्कका लागि अमेरिकी राजदूतमा नियुक्त गर्ने घोषणा गर्दै ग्रिनल्यान्डको ‘स्वामित्व आवश्यक’ भएको बताएका थिए । ‘राष्ट्रिय सुरक्षा र संसारभरको स्वतन्त्रताका लागि अमेरिकाले ग्रिनल्यान्डको पूर्ण स्वामित्व र नियन्त्रण आवश्यक भएको महसुस गरेको छ,’ ट्रम्पले भनेका थिए । ट्रम्पको भनाइ सार्वजनिक भएसँगै ग्रीनल्यान्डका प्रधानमन्त्री म्युट एगेडले ‘ग्रीनल्याण्ड बिक्रीका लागि नभएको र बिक्रीका लागि उपलब्ध नहुने’ बताएका थिए ।
त्यसअघि ट्रम्पले यसअघि सन् २०१९ अगस्टमा पनि ग्रिनल्यान्ड ‘किन्न’ चाहेको बताएका थिए । ट्रम्प ग्रिनल्यान्डको प्राकृतिक स्रोतप्रति आकर्षित भएको बताइएको थियो । तर डेनमार्कका तत्कालीन प्रधानमन्त्री मेट फ्रेडरिक्सनले ‘ग्रिनल्यान्ड बिक्रीका लागि नभएको’ जवाफ दिएकी थिइन् । उनी २०१९ जुनदेखि निरन्तर डेनमार्कको प्रधानमन्त्री छिन् ।
ट्रम्पको भनाइ ‘वाहियात’ भएको फ्रेडरिक्सनको प्रतिक्रियापछि ट्रम्पले डेनमार्कको राजकीय भ्रमण रद्द गरेका थिए । जबकि डेनमार्ककी रानी मार्गरेट द्वितीयको निमन्त्रणामा २०१९ सेप्टेम्बर २ का लागि ट्रम्पको डेनमार्क भ्रमण तय थियो । ट्रम्पले भ्रमण रद्द गरेपछि भने फ्रेडरिक्सनले माफी मागेकी थिइन् । तर त्यसको केही घण्टामा नै ट्रम्पले उनलाई ‘निकै खराब र अप्रिय’ भनेका थिए ।
क्यानडाको आर्कटिक द्वीप समूहको पूर्वमा पर्ने ग्रिनल्यान्ड आर्कटिक र एट्लान्टिक महासागरको बीचमा अवस्थित अवस्थित विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड ‘भूमध्यसागरको मोती’ भनेर चिनिन्छ । २१ लाख ८४ हजार वर्ग किमि क्षेत्रफलको ग्रीनल्यान्डको राजधानी नुक डेनमार्कको राजधानी कोपेनहेगनबाट भन्दा अमेरिकाको न्युयोर्कबाट नजिक छ । 
ग्रिनल्यान्डमा लगभग ५६ हजार ८ सय मानिस बस्छन् । ग्रीनल्यान्डका बासिन्दा पूर्ण रूपमा डेनमार्कका नागरिक हुन् । ग्रीनल्याण्ड कोपनहेगनबाट नुक ३ हजार ५ सय ३४ किमि र न्युयोर्कबाट २ हजार ९ सय ७७ किमिको दूरीमा छ ।
ग्रीनल्याण्ड सन् १७२१ देखि डेनमार्कको भूभागका रूपमा छ । यसले आफ्नो घरेलु मामिला आफैं सञ्चालन गर्छ । तर विदेश र रक्षा नीतिका निर्णय भने कोपेनहेगनमा गरिन्छ । दोस्रो विश्वयुद्धदेखि अमेरिकाले लामो समयदेखि त्यहाँ सुरक्षा चासो र सैन्य उपस्थिति राख्दै आएको छ । ग्रीनल्याण्डको उत्तर-पश्चिममा अवस्थित पिटुफिक अन्तरिक्ष बेसले क्षेप्यास्त्र चेतावनी, हवाई प्रतिरक्षा र अन्तरिक्ष निगरानी अभियानलाई समर्थन गर्दछ ।
सन् २००९ देखि ग्रीनल्याण्डबासीलाई डेनमार्कबाट स्वतन्त्र घोषणा गर्न सक्ने अधिकार छ । ग्रीनल्यान्डको स्वशासनसम्बन्धी डेढ दशकअघिको ऐनले जनतालाई स्वतन्त्रताको विकल्पसहित आत्मनिर्णयको अधिकार दिएको छ । सन् २०२३ अप्रिलमा ग्रीनल्यान्डको संसद्ले संविधानको मस्यौदा तय गरिसकेको छ । यसलाई केहीले स्वतन्त्रतातर्फको प्रमुख कदमका रूपमा व्याख्या गर्ने गरेका छन् ।
उत्तरी अमेरिका महादेशको भाग भए पनि ग्रिनल्यान्ड सन् १९६८ देखि राजनीतिक र सांस्कृतिक रूपमा युरोप (खासगरी नर्वे र डेनमार्क) सँग निकट छ । ग्रीनल्यान्ड खनिज, तेल र प्राकृतिक ग्यासमा धनी छ । तर अर्थतन्त्र माछा मार्ने व्यवसाय र डेनमार्कले दिने वार्षिक अनुदानमा भर पर्ने भएकाले ग्रीनल्यान्डको विकासको गति भने सुस्त छ । ग्रीनल्यान्डको उत्तरपश्चिम तटीय क्षेत्रमा अमेरिकी अन्तरिक्ष फौजको पिटुफिक हवाई आधार शिविर छ । जसका कारण ग्रीनल्यान्ड अमेरिकी सेना र यसको बलिस्टक क्षेप्यास्त्र चेतावनी प्रणालीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।
अमेरिकाका पूर्वराष्ट्रपति ह्यारी ट्रुम्यानले एक पटक ग्रीनल्यान्ड खरिदको प्रस्ताव गरेको समेत ट्रम्पले दोहोर्याएका छन् । ट्रुम्यानले सन् १९४६ मा १० करोड अमेरिकी डलरमा खरिद गर्ने प्रस्ताव गरेका थिए । जुन हालको करिब १ अर्ब ४० करोड डलर बराबर हो । तर प्राकृतिक स्रोत र कूटनीतिक महत्त्वका हिसाबमा भने यसको आजको मूल्य दसौं गुणा बढी हुने अनुमान छ ।
अमेरिकाले सन् १८०३ मा १ करोड ५० लाख डलरमा लुजियाना क्षेत्र खरिद गरेको थियो । त्यस्तै, सन् १८६७ मा रुससँग ७२ लाख डलरमा अलास्का किनेको थियो । सन् १९१६ मा अमेरिकाले डेनिस वेस्ट इन्डिज (यूएस भर्जिन आइल्यान्ड) डेनमार्कसँग २ करोड ५० लाख डलरमा किनेको थियो । अमेरिकाले सन् १९४६ मा स्पेनसँग किनेको फिलिपिन आइल्यान्ड भने पछि त्यागेको थियो ।
