

एजेन्सी ।
बंगलादेशका पूर्वएकदिवसीय क्रिकेट कप्तान तमिम इकबाललाई घरेलु मैदानमै हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा ३६ वर्षीय तमीमले मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका समय हृदयाघात भएको हो ।
उनले खेलका लागि ‘टस’पछि छाती दुखेको गुनासो गरेको र मैदानमा प्रारम्भिक उपचारपछि उनलाई तत्काल नजिकैको अस्पतालमा लगिएको थियो ।
“उनलाई हृदयाघात भएको हो । मलाई अहिलेसम्म जानकारी भएअनुसार उनको मुटुले राम्रोसँग काम गर्न थालिसकेको छ,” बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का मेडिकल अफिसर देवाशीष चौधरीले भने ।
टोलीका एक अधिकारी तारिकुल इस्लामले बताएअनुसार तमिमको ढाकाको बाहिरी इलाकामा रहेको सावरको एक अस्पतालमा उपचार भइरहेको छ । बंगलादेशी जनतालाई उनको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न आग्रह गरिएको छ ।
