

सुजीतकुमार झा
जनकपुरधाम ।
विद्यार्थीहरुसँग वार्ता गर्न बनाइएको वार्ता समितिले रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका प्रमुखलाई वार्ताको प्रगति विवरण बिहिवार बुझाएको छ । वार्ता उपलब्धिमूलक भएन विवरणमा उल्लेख रहेको क्याम्पस प्रमुख बसन्त कर्ण नजिकका एकजना प्राध्यापकले जनाएका छन् ।
नेपाल प्राध्यापक संघ राराब क्याम्पस इकाइ समितिका अध्यक्ष मुक्तिनाथ साहको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो । सो वार्ता समितिले विद्यार्थीहरुसँग छलफल पनि गरेका थिए ।
क्याम्पस प्रमुख कर्णलाई बुझाएको प्रगति विवरणमा वार्ता सफल नभएको उल्लेख रहेको छ । विद्यार्थीहरुको माँग डिजिटल कार्ड, निर्वाचन समिति भंग तथा फर्जी कार्ड बनाउने माथि कार्यबाही गर्नुपर्ने लगायतको यथावत रहेको तर उक्त माँगहरु पुरा गर्ने तर्फ क्याम्पस प्रमुखबाट स्पष्ट धारणा हामी समक्ष व्यक्त नभएकोले यति मात्रै कार्य भएको सो विवरणमा रहेको छ ।
साहको संयोजकत्वमा गठित वार्ता समितिमा रेमन्त मोरबैता, रामसेवक ठाकुर, राजेशकुमार झा र बिनिता ठाकुर रहेका थिए । निर्वाचन समिति भंगको सबालमा क्याम्पस प्रमुख लचिलो देखिएपनि विद्यार्थीहरुको डिजिटल कार्ड, फर्जी कार्ड बनाउनेलाई कार्यबाही सबाल मौन देखिएको वार्ता समितिका एकजना सदस्यले बताएका छन् ।
वार्ता समितिको रिपोट आइसकेपछि स्ववियूको तत्काल चुनाब हुनेमा शंका देखिएको छ ।
