

सुजीतकुमार झा
जनकपुरधाम ।
कुनै हाकिमको कामकाजबाट मेयर र उपमेयर प्रभावित हुन सक्छन् यो धेरै ठूलो कुरो होइन तर नगराइन नगरपालिकामा मेयरको एकजना हाकिमसँग यस्तो लगाब भएको छ उहाँ बाहेकको कुनै कार्यालय प्रमुख स्वीकार नरहेको उहाँ स्वयं स्वीकार गर्नु हुन्छ ।
‘नगराइन नगरपालिकाका लागि रामगुलाम लाल कर्ण नै उपयुक्त हाकिम छन् मैले ठोकुवाका साथ भन्छु,’ मेयर विनय यादव बताउनुहुन्छ ।
धनुषाको नगराइन नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्ण पहुँचको भरमा ३ वर्षदेखि निमित्त भएर कार्यरत रहेको खुलेको छ । राजनीतिक आडमा स्वास्थ्य समूहका कर्णले प्रशासन सेवामा लामो समयदेखि नगराइन नगरपालिकामा कार्यरत रहेको खुलेको हो । यादव भन्नुहुन्छ –राजनीतिक आड नभन्नुस, उहाँ नै उपयुक्त व्यक्ति हो ।
नेकपा एमालेका कार्यकर्ताहरु जहिलेपनि कर्णको विरोधमा देखिएका छन् अरुलाई राख्न दबाब दिन्छन् तर मेयरको हाकिम प्रेमले नगराइनमा कसैको चल्दैन । यादव मोडेल खबरसँग कुरा गर्दै भन्नुहुन्छ – नगराइनमा बन्द हडताल नगर्नुस कर्णले कामको गति बढाइदिन्छ । जुन वर्ष बन्द हडताल भएको थिएन त्यो बेला ५० नम्बर भन्दा बढी अंक ल्याएको कसैसँग लुकेको छैन ।
मेयरले नगरपालिकालाई आफनो व्यवसायिक प्रतिष्ठान बनाएको नेकपा एमाले मधेश प्रदेशका सदस्य संजीतकुमार मण्डलले आरोप लगाउनु भएको छ । एकजना प्रति यस्तो आशक्ति संसारमा नगराइन बाहेक कतै देख्नुहुन्छ उहाँले बताउनुभयो ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही दिन अघि नगराइन नगरपालिकामा उपसचिव आनन्दकुमार ठाकुरलाई पठाएका थिए । तर मेयर ठाकुर नगरपालिकामा आउनै दिएनन् । ठाकुरलाई फिर्ता पठाउन मेयरले मन्त्रालयमा पत्र पठाएका थिए ।
गाउँपालिकामा शाखा अधिकृत, नगरपालिकामा उपसचिव, उपमहानगरपालिका र महानगरपालिकामा सहसचिवलाई सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने गरेको छ ।
नगराइनमा मन्त्रालयले ३ पटक उपसचिव पठाउदा पनि पावर र पहँुचका भरमा कनिष्ठलाईनै प्रमुख प्रशासकीय अधिकृत बनाउदै आएको छ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको खास कार्यकर्ता रहेको कर्णलाई उपहारमा निमित्त प्रमुख बनाउदै आएको एमाले नेता मण्डलले आरोप लगाउनुहुन्छ ।
‘कांग्रेसी मेयर जुन ठाउँमा मेयर हुन्छ त्यहाँपनि डेमोक्रेट कर्मचारीलाई स्थान हुँदैन भने कहाँ हुन्छ मेयर यादव प्रश्न गर्नुहुन्छ ।
पालिकाहरूले जुनियर र आफूअनुकूल व्यक्तिलाई निमित्त देऊ भन्न थालेको छ । कानुनमै सिनियरलाई निमित्त दिने भन्ने व्यवस्था छ । सिनियर छाडेर पालिकाअनुकूलको जुनियरलाई निमित्त दिँदा सिनियर कर्मचारी लेखा अधिकृत रामबाबु साह सरुवा गरेर अर्कै पालिका जानू परेको बताए । जुनियर कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहहरूले आफूअनुकूलको कर्मचारीलाई निमित्तको जिम्मा दिन थालेको भन्दै संघीय मन्त्रालयले ज्येष्ठ कर्मचारीलाई मात्र निमित्त दिन निर्देशन पनि दिएको छ ।
कुनै पनि स्थानीय तहले कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयमा निवेदन परेमा छानबिन गरी कनिष्ठ कर्मचारीबाट भएका सम्पूर्ण कार्यहरू रद्द गरिदिने जनाएको छ । तर नगराईन नगरपालिकमा सत्ता र शक्तिको दुरुपयोग गरेर कनिष्ठलाईनै प्रमूख प्रशासकीय अधिकृतको जिम्मेवारी दिदै आएको छ । ‘मन्त्रालयले सीधे पठाइदिदा मेरो आपत्ति छ, समन्वय गरेर पठाउँछ भने मैले पनि स्वागत गर्छु,’ मेयर यादवले बताउनुभयो ।

