

जनकपुरधाम ।
नेपाल सरकारले महोत्तरीको बलवा नगरपालिकामा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मधेस प्रदेसको बलवामा व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय भएको जानकारी दिए ।
मन्त्री भण्डारीले व्यवसायिक प्रशिक्षण प्रतिष्ठानलाई सुधार गर्दै देशभर सीपमूलक तालिमलाई प्रभावकारी बनाउने योजनाअन्तर्गत मधेश प्रदेशलाई प्राथमिकतामा राखेको बताए ।
यो निर्णयसंगै बलवा नगरपालिकामा आधुनिक सुविधा सम्पन्न व्यवसायिक प्रशिक्षण केन्द्र निर्माण गरिनेछ, जसले स्थानीय श्रमिकहरूलाई दक्षता प्रदान गर्ने विश्वास लिइएको छ ।
नेपाल सरकारको दीर्घकालीन योजना अनुरूप, यो केन्द्र सिपमूलक जनशक्ति उत्पादन गरी नेपाल भित्र र अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित अगाडी बढाइने मन्त्री भण्डारीले बताए ।
सरकारले रोजगारदाता संस्थाहरू तथा निजी क्षेत्रसँग सहकार्य गरी तालिम प्राप्त व्यक्तिहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने नीति अवलम्बन गर्ने बताइएको छ । अन्य प्रदेसहरूमा समेत यस्ता व्यवसायिक तालिम केन्द्रहरू विस्तार गर्ने सरकारको योजना रहेको मन्त्री भण्डारीले बताए ।
