

सुजीतकुमार झा
जनकपुरधाम ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिक आइरहेको बेला रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका विद्यार्थी संगठनहरु आन्दोलनमा ओर्लेको छ । विभिन्न माँग राखी आन्दोलनमा ओर्लेका विद्यार्थी संगठनका नेताहरुले क्याम्पस प्रमुखको कार्यालय र निर्वाचन कार्यालयमा तोडफोड गरेको छ । स्ववियूका उपसभापति राजेशकुमार कर्णले दूबै कार्यालयमा तालाबन्दी गरिएको समेत मोडेल खबरलाई जानकारी दिनु भएको छ ।

विद्यार्थी संगठनहरुको माँग सम्बन्धमा क्याम्पस प्रमुख बसन्त कर्ण गम्भीर नदेखिएको आरोप विद्यार्थी नेताहरुको रहेको छ । विद्यार्थी नेताहरुले स्ववियू चुनाबका लागि बनाइएको निर्वाचन समितिसँग पनि असन्तुष्ट देखिएका छन् । जसपा समर्थित विद्यार्थी संगठन राराब क्याम्पस इकाइ समितिका अध्यक्ष गौतम यादवले निर्वाचन समिति बनाउँदा विद्यार्थी संगठनसँग सल्लाह नगरेको आरोप लगाएका छन् ।
४ सूत्रिय माँगमा क्याम्पसमा डिजिटल कार्ड अनिवार्य लागु गरियोस, निर्माण भएको फर्जिकार्ड तुरन्त बदर गरियोस, मास्टर डिग्री दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्न व्यवस्था गरियोस तथा नाम दर्ताका लागि आवश्यक समय उपलब्ध गराइयोस, नामाकंन गर्ने समय आवश्यक अनुसार थप गरियोस र आइडी कार्ड बनाउने समय थप गर्न लगायतको रहेको छ ।
स्ववियूको विगतका चुनाबमा केही फर्जी मतदाता भेटिएको थियो पुनः त्यस्तो गल्ती नहोस हामी चाहन्छौ स्ववियूका उपसभापति कर्णले बताउनु भयो ।
संयुक्त विद्यार्थी संगठनको नाउँमा आन्दोलन शुरु गरिएको छ । सो आन्दोलनमा नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरु आन्दोलनमा ओर्लेको छ ।

