

जनकपुरधाम ।
मैथिली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि मैथिली साहित्य समाजले आयोजना गर्दै आएको मासिक कवि गोष्ठीको ११ वर्ष पुरा भएको छ ।
मासिक कवि गोष्ठीको १३३औं शृङ्खला सफलतापूर्वक सम्पन्न गर्दै मैथिली साहित्य समाजले मासिक कवि गोष्ठी ११औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा आयोजित कवि गोष्ठीमा वक्ताहरूले जनकपुरधामलाई मैथिली साहित्य र संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न कवि गोष्ठीले खेलेको भूमिकाको चर्चा गरेका थिए । नेकपा एमाले मधेश प्रदेशसभाका उपनेता दिपेन्द्र ठाकुरले कवि गोष्ठीलाई विश्व साहित्यमा मैथिली भाषा उचाईमा पुर्याउने अभियानको संज्ञा दिंदै आयोजकहरूलाई बधाई दिएका थिए ।
साहित्यकारहरूका अनुसार १ सय ३३ पटकसम्म अविरल रूपमा आयोजना भएको यो गोष्ठी मैथिली साहित्यको इतिहासमै एक महत्त्वपूर्ण उपलब्धि हो । सहभागीहरूले यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश गर्न पहल गर्नुपर्ने सुझाव समेत दिए ।
कवि गोष्ठीमा ६० भन्दा बढी कविहरूले आफ्नो रचना प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको प्रमुख वक्ताका रूपमा अयोध्यानाथ चौधरी, डा. रेवतीरमणलाल, संविधानसभा सदस्य शीतल झा, जिससका पूर्व उपसभापति दिपक झा लगायत उपस्थित थिए । कविता वाचन गर्नेहरूमा काशीकान्त झा, किरण झा, दिगम्बर झा ‘दिनमणि’ अभिष्टनारायण झा, सुमित झा, आस्था झा, विभा पाण्डे, अमरकान्त अमर, प्रशान्त झा, मोती झा ‘मैथिली’, सुनिल मल्लिक, डा. विरेन्द्र कुमार झा, प्रमोदानन्द झा, डा. गायत्री झा, प्रमोदकुमार झा, धिरेन्द्र झा मैथिल, फुलेन्द्रलाल कर्ण, नरेश ठाकुर, देवीकान्त मिश्र, मनोज प्रमेश, शिवानी मिश्र लगायतका थिए ।
