

जनकपुरधाम ।
लक्ष्मीनिया गाउँपालिकामा आफ्नै घर भित्रै गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । लक्ष्मीनिया गाउँपालिकास्थित बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव उनकै घरभित्र रहेको पूजाकोठामा सडेगलेको अवस्थामा शव फेला परेको हो ।
अञ्जली तथा उनको श्रीमान वेपत्ता भएको खबर स्थानीयले प्रहरीलाई दिएपछि अनुसन्धान अगाडि बढाइएको थियो ।
अनुसन्धानको क्रममा शनिबार दिउँसो १ बजे कोठाभित्रै गाडेको अवस्थामा अञ्जलीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।
अञ्जलीको श्रीमान् हरिराम यादव फरार रहेकाले अञ्जलीको हत्या गरेर उनैले शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । हरिरामसँगै १० महिनाकी छोरीको पनि वेपत्ता छन् ।
स्थानीयका अनुसार गत शनिबार रामहरि र अञ्जलीबीच विवाद भएको थियो । भोलिपल्टै रामहरिले श्रीमती बेपत्ता भएको भनेर छरछिमेकमा सुनाएका थिए । मंगलबारदेखि रामहरि पनि बेपत्ता भए ।
एकाएक घरका सबै हराएपछि शंका लागेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायव उपरीक्षक सिंहले शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको जानकारी दिए ।
