

जनकपुरधाम ।
श्रीमानसंग मिलेर आफ्नो प्रेमीको हत्या गर्ने एक महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला विहारी नगरपालिका वडा नम्बर ६ सिर्सिया टोलकी अनिताकुमारी यादव रहेकी छन् । उनलाई कमला नगरपालिका वडा नम्बर ६ सिंग्याही मडानका शहिद अन्सारीको हत्या आरोपमा पक्राउ गरिएको हो ।
अनिताले आफ्नो श्रीमान राजकिशोर यादवसंग मिली योजना बनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । मृतक अन्सारी र अनिताबिच पछिल्लो अढाई वर्षदेखि प्रेम सम्बन्ध रहेको उनले बताए । अन्सारीले कतारबाट अनितालाई पैसापनि पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार अनिताले अन्सारीको हत्या गर्न वैदेशिक रोजगारीमा रहेका अन्सारीलाई नेपाल बोलाउन उनको श्रीमती बिरामी रहेको भन्दै नाटक रचेका थिए । अन्सारी नेपाल फर्किएपछि गत मंसिर २७ गते आफ्नो श्रीमान राजकिशोरसंग मिलेर अनिताले घरमा बन्धक बनाई अन्सारीको बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको अनिताका श्रीमान राजकिशोर भने वैदेशिक रोजगारीकालागि साउदी अरब पुगिसकेको र उनलाई साउदी अरबबाट नेपाल फर्काउने तयारी भईरहेको प्रहरी उपरीक्षक तिवारीले बताए ।
अन्सारीको शव गत पुस ४ गते सडेगलेको अवस्थामा मिथिला विहारी नगरपालिका वडा नम्बर २ पुरनदाहास्थित पर्शुराम तलाउ नजिक फेला परेको थियो । प्रहरीले सो शवको हुलियाको आधारमा तयार पारेको स्केचलाई अन्सारीका पत्नीले पहिचान गरेपछि मात्रै यो शव अन्सारीको रहेको खुलेको थियो ।
