

सुजीतकुमार झा

महाशिवरात्रीको अवसरमा जनकपुरधामको शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । व्रतोत्सवहरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । मिथिलामा शिवरात्री मनाउने विशिष्टता रहेको छ ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व लाई हिन्दू संस्कृतिमा अत्यधिक महत्व रहेको छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । र यी सबै कार्य जनकपुरधामको भूतनाथ मन्दिरमा हुने गरेको भूतनाथ मन्दिरका संस्थापक पवन सिंघानियाले वताए ।
मिथिलामा प्राचीनकालदेखि नै शिवको पूजा हुँदै आएको छ । राजा जनकले जनकपुरधामको चार कुनामा शिवलिंग स्थापित गरेको मिथिला महात्म्यमा उल्लेख रहेको छ । शिवलिंग स्थापना गरेका स्थानहरुमा जलेश्वरनाथ, क्षीरेश्वरनाथ, सतोषर र कलाणेश्वर स्थान रहेको छ ।
धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान शंकर ब्रह्मावाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रह्माण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले यसलाई महाशिवरात्रि वा कालरात्रि पनि भनिन्छ ।
भगवान शिव विष्णुको तेजबाट उत्पन्न भएका कारण सधैँ योग मुद्रामा नै रहने गर्दछन् विष्णु पुरानमा उल्लेख रहेको छ । महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशानसंहिताको एक ठाउँमा फाल्गुन कृष्ण चतुर्दशीको महानिशामा आदिदेव महादेव कोटि सूर्यको समान दीप्तिसम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत भएको उल्लेख छ ।
शिवप्रिया रात्रिः शिवरात्रिः अर्थात् कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्री हो । जुन रात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्री भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्त्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जागरण सहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय विधान छ । भगवान् शिवको निर्गुण निराकारबाट सगुण साकार रुपमा दिव्य अवतरणको मंगलसूचक रातको नाम नै महाशिवरात्री हो । भगवती पार्वतीको जिज्ञासामा शिव भन्नुहुन्छ – फागुन कृष्ण चतुर्दशीको रात्रि शिवरात्रीका नामले प्रसिद्ध छ । यस दिन व्रतोपवास गर्ने साधकले मलाई प्रसन्न गर्दछ ।
फाल्गुने कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
तत्रोपवासं कुर्वाणः प्रसादयति मां ध्रुवम् ।। (शिवपुराण)
शिवरात्रिको व्रतमा त्यही महानिशाव्यापिनी चतुर्दशीको ग्रहण गर्नुपर्छ भनी बताइएको छ । यसप्रकार शिवलिङ्ग रूपमा पृथ्वीमा पहिलो पटक आभिर्भूत भएको दिनलाई शास्त्रहरूले महाशिवरात्रिको रूपमा ग्रहण गरेको पाइन्छ ।
शिव अर्थात प्रकाश स्वरूप, दिव्य ज्योतिर्मय, स्वयम्भू, अखण्ड ज्योतिरूप, ज्योतिमा पनि महाज्योति, ओजस्वी, तेजस्वी जसको यादगार सर्वत्र संसार भरी ज्योतिर्लिगंम रूपमा विभिन्न नामबाट प्रतिमा स्थापना गरिएका छन ।
अर्थात अन्य देवी–देवता, महापुरुष र महाविभूतिको जस्तो उहाँको कायिक चित्र कही कतै छैन । विश्व भरिका सम्पूर्ण शिव मन्दिरहरूमा ज्योतिर्मयरूपको प्रतिक शिवलिंग नै स्थापना गरिएको छ । साहित्यकार चन्द्रमोहन झा ‘पडवा’ भन्नुहुन्छ शास्त्रीय भाषामा ज्योतिर्लिंग अर्थात् शिव प्रकाशका रूपमा वर्णित छ । साथै शिव वीजरूप, आदित्य, आदिरूप, वृक्षपति, उत्पत्ति, पालना र लयको आधार, सर्वमान्य सर्वोपरि रूपमा स्वीकार गरिएको छ । देवका पनि देव त्रिमूर्ति ब्रह्मा, विष्णु, शंकरका पनि रचयिता, देवात्मा, धर्मात्मा, महात्मा तथा पुण्यआत्मा, धर्मपिता, अधिष्ठा र अराध्य वीजरूप हुनुहुन्छ ।
ज्योतिषशास्त्रका अनुसार प्रतिपदा आदि १६ ओटा तिथिहरुको अग्नि आदि गरिएका देवताहरु स्वामी (मालिक) हुन्छन् । अतः जुन तिथिको जुन देवता स्वामी हुन्छन्, ती देवताको त्यसै तिथिमा व्रत, पूजा आदि गर्नाले उनको विशेष कृपा उपासकलाई प्राप्त हुन्छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् अर्थात् भगवान् शिवको तिथि भनेको चतुर्दशी हो । त्यसैले यस तिथिको रातिमा व्रत गरिने भएकोले यस व्रतको नाम शिवरात्रि रहन गयो । यसैगरी प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा पनि शिवरात्री व्रत हुन्छ, जसलाई महाशिवरात्री व्रत भनिन्छ । शिवभक्तहरु प्रत्येक कृष्णचतुर्दशीमा व्रत गर्ने गर्दछन् तर फागुन कृष्ण चतुर्दशी तिथिको आधारातमा आदिदेव भगवान् शिव करोडौँ सूर्यको समान तेज सहित लिंग रुपमा प्रकट हुनु भएकोले यो पर्व महाशिवरात्रीका नामले प्रसिद्ध भएको कुरा ईशानसंहितामा उल्लेख गरिएको छ–
फाल्गुनकृष्णचतुर्दश्यामादिदेवो महानिशि ।
शिवलिङ्गतयोद्भूतः कोटिसूर्यसमप्रभः ।।
यो व्रत ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री–पुरुष र बालक–युवा–वृद्ध आदि सबैले गर्न सक्दछन् । प्रत्येक एकादशी व्रत लगायत अन्य व्रतहरु जस्तै महाशिवरात्रि व्रत पनि सबैले गर्नुपर्दछ । नगरिएको खण्डमा दोष लाग्दछ ।
हाम्रा पूर्वज ऋषि–महर्षिहरुले सम्पूर्ण आध्यात्मिक अनुष्ठानहरुमा उपवासलाई महत्त्वपूर्ण मानेका छन् ।
विषया विनिवर्तन्ते निराहारस्य देहिनः । (गीता– २।५९)
गीताको यस भनाई अनुसार उपवासलाई विषय निवृत्तिको अचूक साधन मानिएको छ । अतः आध्यात्मिक साधनाका लागि उपवास बस्नु अत्यावश्यक हुन्छ । उपवासका साथै रात्रिजागरणको पनि उत्तिकै महत्त्व छ । गीतामा भनिएको पनि छ –
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी । (२।६९)
अर्थात् उपवास आदिद्वारा इन्द्रियहरु र मनलाई नियन्त्रण गर्ने संयमी व्यक्ति नै रातमा जागा बसी आफ्नो लक्ष्यप्राप्तिमा अग्रसर हुन सक्दछ । त्यसैले भगवान् शिवको उपासनाका लागि उपवास र रात्रि–जागरणको ठूलो महिमा छ । रात नै प्यारो लाग्ने भगवान् शिवप्राप्तिको समय रात्रि भन्दा बाहेक अरु कुन हुन सक्दछ ? अतः यी कारणहरुले गर्दा यस महान् पर्वमा शिवभक्तहरु उपवासका साथै रातिमा जागा बसी विधिपूर्वक शिवपूजा गर्ने गर्दछन् ।
