

जनकपुरधाम ।
नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले ०८२ सालमै पार्टीको अधिवेशन गर्नुपर्ने बताएका छन् ।
यसअघि पुस १६ गते चितवन पुगेर पार्टी महाधिवेशन आम निर्वाचनपछि गर्नुपर्ने अभिव्यक्ति दिएका शशांकले मंगलबार जनकपुर पुगेर निर्धारित समयमै गर्नुपर्ने बताएका हुन् ।
चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो उनको भनाइ छ ।
‘चुनावभन्दा दुई पहिला अधिवेशन गराएको राम्रो हो । तर त्यसपछि गरायो भने हामी अफ्ठ्यारोमा पर्छौँ । चुनावको मुखमा अधिवेशन गरियो भने तिक्तताको बाटो हुन्छ,’ उनले भने, ’त्यसैले चुनावको दुई वर्ष पहिला गर्नुपर्छ । २०८२ सालमा गर्नुपर्छ ।’
२०८२ मा गराउन नसकेमात्रै चुनावपछिबारे सोच्नुपर्ने उनको भनाइ छ । कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । विधानअनुसार चार÷चार वर्षमा महाधिवेशन हुनुपर्छ । त्यसैले १५औँ महाधिवेशन २०८२ मंसिरभित्र गर्नुपर्छ । तर, पार्टीको विधानको व्यवस्थाअनुसार विशेष परिस्थिति उल्लेख गरेर सभापति शेरबहादुर देउवाले थप एक वर्ष लम्ब्याउन पनि सक्नेछन् ।
