

सुजीतकुमार झा
जनकपुरधाम ।
रामस्वरुप रामसागर बहुमूखी क्याम्पस जनकपुरधाममा आज घण्टो तनाव रहेको थियो । सो घटनामा ४ जना घाइते भएको जानकारी धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले दिएका छन् । घाइतेहरुमा वर्ष ५५ का सुरेन्दप्रसाद यादव, वर्ष २७ का गोविन्द साह, वर्ष २२ का रामपुकार महतो, वर्ष २४ का विकेश अधिकारी रहेका छन् ।
घाइतेहरुलाई प्रादेसिक अस्पताल जनकपुरधाममा उपचार गरिएको छ । घाइतेहरुको अवस्था समान्य रहेको र उपचारपछि घर फर्केको जानकारी प्रहरी नायब उपरीक्षक सिंहले मोडेल खबरलाई दिएका छन् ।
परीक्षाको विषयलाई लिएर शुरु भएको विवाद फाइटिगंसम्म पुगेको थियो । क्याम्पस प्रमुख बसन्त कर्णकै अगाडी महेश यादव र सुरेन्द्र यादवले एक अर्का माथि मुक्का प्रहार गरेका थिए । दूबै कर्मचारीले एक अर्कालाई गालीगलौज पनि गरेका थिए ।
महेश प्रजातान्त्रिक समूहका कर्मचारी रहेका छन् भने सुरेन्द्र माओवादी समर्थित । प्रत्यक्षदर्शी कर्मचारीहरुका अनुसार एमबीएसको परीक्षाको जिम्मेबारी लिने विषयलाई लिएर विवाद उत्पन्न भएको छ । एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सहित परीक्षा सम्बन्धमा जानकारीका लागि क्याम्पस प्रमुख कर्णसँग भेटन गएका थिए । तर क्याम्पस प्रमुख कर्ण रायलाई परीक्षाको जिम्मेवारीबाट हटाइ अरुलाई दिने मनसाय बनाएपछि विवाद शुरु भएको जानकारी नाम नछाप्ने शर्तमा एकजना कर्मचारीले बताएका छन् ।
महेश यादव परीक्षाको नेतृत्व गर्न चाहन्थे त्यसै क्रममा विवाद भएको छ । पहिला जुन शाखा अन्तर्गत परीक्षा हुन्थ्यो त्यसैका कर्मचारीहरु परीक्षाको जिम्मेवारी लिन्थे तर क्याम्पस प्रमुख कर्ण आएदेखि आफना निकटका कर्मचारीलाई परीक्षाको जिम्मेवादी दिन थालेका छन् । सो विषयलाई लिएर केही कर्मचारीमा मनमुटाब पनि भएको छ । शिक्षा तर्फ शाखा प्रमुख पवन यादव रहेका छन् तर क्याम्पस प्रमुखले महेशलाई परीक्षाको जिम्मेवारी दिएका थिए ।
कर्मचारी बिच कुटाकुट भइरहेको बेला क्याम्पस प्रमुख कर्ण मोटरसाइकलमा चढेर घर भागेका थिए ।
दूबै पक्षलाई जिल्ला प्रहरी कार्यालय धनुषामा आजै बोलाइएको जानकारी धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी दिएका छन् ।
