

काठमाडौँ ।
नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिहरूको दुई दिने राष्ट्रिय भेला चैत मसान्तसम्म सातै प्रदेशमा वडास्तरीय अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । शनिबारदेखि काठमाडौँमा सुरु भएको विज्ञसहितको भेलालाई निरन्तरता दिने गरी आइतबार सम्पन्न भएको हो ।
स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणमा जनप्रतिनिधिको तर्फबाट ९ जनाले अनुभूतिजन्य रिपोर्ट प्रस्तुत गरेका थिए । भेलालाई समापन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञले दिएको सुझाव, केन्द्रीय समिति बैठकले पारित गरेको दस्ताबेज, पार्टीको घोषणापत्रको आधारमा काम गर्न प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए ।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले स्थानीय तहमा समाजवाद निर्माणका लागि भेला महत्त्वपूर्ण भएको दाबी गरे । माओवादीले जितेका पालिकालाई ‘रोल मोडेल’ बनाउने गरी समीक्षा भएको उनको भनाइ छ ।
यस्ता कार्यक्रम पहिलेदेखि नै गरेको भए पनि बिचमा निरन्तरता दिन नसकिएको सम्बन्धमा समीक्षा भएको उनले जानकारी दिए । उनले केन्द्रीय समितिले पारित गरेको दस्ताबेजको आधारमा विज्ञको सुझावसहित कार्यान्वयन गर्ने र त्यसको प्रतिफल के आउँछ ? त्यसको समीक्षासहित फेरि एक वर्षमा बस्ने गरी भेला सम्पन्न भएको बताए ।
‘अब अभियानकै क्रममा सातै प्रदेशमा वडास्तरीय भेला यही चैत मासान्तसम्ममा जनप्रतिनिधिसहित वडास्तरमा गर्नेछौँ । जनप्रतिनिधिसम्बन्धी कार्यक्रम केही समय पहिले गरेका थियौँ, तर त्यसलाई निरन्तरता दिन सकिएन । यस कार्यक्रमको समीक्षासहित अर्को वर्ष फेरि संश्लेषण गर्नेछौँ,’ उनले भने ।
उपाध्यायका अनुसार स्थानीय तहमा, सुशासन र समृद्धिको पक्षमा जनताले प्रश्न उठाउन नसक्ने गरी राम्रो काम गर्न अध्यक्ष प्रचण्डले जनप्रतिनिधिलाई सुझाव दिएका थिए ।
