

जनकपुरधाम ।
आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहविरुद्ध अदालत अवहेलनाको मुद्दामा जिल्ला अदालत गौरले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले यो आदेश दिएको हो । सांसद साहले सामाजिक सञ्जाल फेसबुकमा रौतहटका न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर टिप्पणी गरेपछि विवाद उत्पन्न भएको थियो । यसलाई अदालतप्रति अपमानजनक ठहर गर्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेका थिए ।
नगरप्रमुख यादवले आजपा महासचिव त्रिभुवन साहविरुद्ध पनि अदालत परिसरमै आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् । यसअघि, गंगाराम बैठामाथि कुटपिट, अभद्र व्यवहार तथा गालीगलौजको आरोपमा अदालतले थुनामा राख्न आदेश दिएको थियो ।
सोही विषयमा त्रिभुवन साहको संलग्नता रहेको भन्दै यादवले मुद्दा दर्ता गराएका हुन् । बौधीमाई नगरपालिकाका कानुनी सल्लाहकार तथा नेपाल बार एसोसिएसन, रौतहटका पूर्व अध्यक्ष राजाराम यादवका अनुसार, अदालत अवहेलनामा दोषी ठहरिए आर्थिक जरिवाना, जेल सजाय वा क्षमादान हुन सक्ने कानुनी व्यवस्था छ ।
