Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अक्सफोर्ड र स्टानफोर्ड फर्कँदै बेलायती पूर्वप्रधानमन्त्री सुनक





लण्डन ।

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक महत्वपूर्ण दुई भूमिकाका साथ आफ्ना पूराना विश्वविद्यालयमा फर्कने भएका छन् । सुनकले बेलायतको यूनिभर्सिटी अफ अक्सफोर्ड ब्लाभाटनिक स्कूल अफ गभर्मेन्टको ‘वर्ल्ड लिडर्स सर्कल’को सदस्यको रुपमा प्रवेश गर्न लागेको घोषणा गरेका हुन् ।

त्यस्तै, उनी अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड युनिभर्सिटीमा रहेको थिंक ट्यांक ‘हुभर इन्स्टिच्युट’मा ‘भिजिटिङ फेलो’को भूमिकामा पनि रहनेछन् । सुनकले अक्सफोर्डमा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र अध्ययन गरेका थिए । पछि उनले स्टानफोर्डबाट मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेशन (एमबीए) गरेका हुन् ।

सुनक यी दुई संस्थामा संलग्न हुन पाउँदा आफू खुसी भएको बताउँदै भन्छन्, ‘ब्लाभाटनिक र हूभरले आर्थिक र सुरक्षाका चुनौतीहरु समाधान गर्ने र अहिलेका प्राविधिक अवसरहरु उपयोग गर्न उच्चस्तरीय काम गर्छन् । मैले यी दुवै ठाउँमा अध्ययन गर्ने मौका पाएँ । जसकारण मेरो जीवन र करियरलाई राम्रो बनाउन मद्दत गर्यो । अब आगामी दिनहरुमा यहाँको विश्वस्तरीय अनुसन्धानमा योगदान गर्न पाउँदा म उत्साहित छु ।

सुनकले यी दुवै संस्थाप्रति विशेष आभार र माया रहेको पनि बताए । स्टानफोर्डमै उनको आफ्नी पत्नी अक्षता मूर्तिसँग भेट भएको थियो । सुनकको यो घोषणा महिनौँसम्म चलिरहेको चर्चा पछि आएको हो । सुनक फेरि क्यालिफोर्नियामा बसाईं सर्ने चर्चा पनि चलेको छ । यो विषय गत वर्षको आम निर्वाचनका बेला विपक्षी दलका नेताहरूले निरन्तर उठाएका थिए ।

प्रधानमन्त्रीको कार्यकालपछि सुनकको पहिलो औपचारिक भूमिका यही हो । उनी हाल रिचमन्ड र नर्थ अलर्टन (उत्तर यर्कशायर) बाट सांसद छन् । नयाँ भूमिका लिनुअघि सुनकले आफ्ना दुई पूर्ववर्तीको अनुकरण गरेका छन् । सर टोनी ब्लेयरले प्रधानमन्त्रीको भूमिका छोडेपछि यल विश्वविद्यालयमा अध्यापन गराएका थिए । त्यस्तै गोर्डन ब्राउनले न्यूयोर्क विश्वविद्यालयमा ‘डिस्टिङ्ग्विस्ट लिडर इन रेजिडेन्स’ भएका थिए ।

सुनकको अनुभवले अक्सफोर्डलाई महत्वपूर्ण योगदान मिल्ने अक्सफोर्ड विश्वविद्यालयका चान्सलर तथा कन्जरभेटिभ पार्टीका पूर्वनेता सर विलियम हेगको भनाइ छ । अमेरिकी पूर्व विदेशमन्त्री तथा हाल हूवर इन्स्टिच्युटकी निर्देशक कन्डोलिजा राइसले सुनकलाई स्वागत गर्दै भनिन्, ‘ऋषिको व्यापक नीति र विश्वव्यापी अनुभवले हाम्रो संस्था र आगामी नीतिहरूलाई परिभाषित गर्न महत्वपूर्ण योगदान गर्नेछ ।’

सुनक सन् २०२२ अक्टुबर २५ देखि २०२४ जुलाई ५ सम्म बेलायतका प्रधानमन्त्री थिए ।