

एजेन्सी ।
भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले मृतकको संख्या फरक–फरक बताईरहेको बेला भारतीय अनलाइन दैनिक भास्करले भने उक्त भागदौडमा २० जनाभन्दा बढीको मृत्यु भएको उल्लेख गरेको हो । उक्त अनलाइन पत्रिकाका अनुसार मंगलबार राति करिब १.३० बजे प्रयागराजको संगम किनारमा भएको भागदौडमा ५० जनाभन्दा बढी भक्तजन घाइते भएका छन् ।
भास्कर रिपोर्टरका अनुसार, सुरुमा १४ वटा शव पोस्टमार्टमका लागि मेडिकल कलेजमा ल्याइएको थियो । पछि एम्बुलेन्सबाट मेला क्षेत्रबाट केही थप शव ल्याइयो । तर स्थानीय प्रशासनले दुर्घटनाको १३ घण्टा बितिसक्दा पनि मृत्यु वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मानिसहरूलाई संगम किनार नजान अपिल गरेका छन् । भागदौडमा आफन्त हराएकाहरू भौतारिएका तस्वीरहरु सार्वजनिक भएका छन् ।
