

काठमाडौँ ।
पूर्व–पश्चिम मुख्य राजमार्गअन्तर्गतको रौतहटको चन्द्रपुर–१ स्थित रौतहट–सर्लाही जोड्ने वाग्मती पुलको स्टिल बिम अर्थात् ‘गिर्डर’ चर्किएको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार ५५ वर्ष पुरानो पुलको पूर्वतर्फ ७ नम्बरको स्परमाथि जडान गरिएको बिम झण्डै ८ सेन्टिमिटर चर्किएको हो ।
सडक कार्यालयका इन्जिनियर प्रकाश यादवले बिम चर्किएर सवारी आवतजावतमा समस्यामा हुने बताए । ‘एकै पटक ४/५ वटा मालवाहक सवारी पुलमाथिबाट गुड्न थाले भने ठूलो जोखिम निम्त्याउँछ,’ उनले भने, ‘मालवाहक सवारीलाई एकपटकमा एउटा चल्ने वातावरण मिलाउन रौतहट र सर्लाही जिल्ला ट्राफिक प्रहरीलाई अनुरोधसहित पत्राचार गरिसकेका छौं ।’
सडक डिभिजनले पुल चर्किएको बारे पुल महाशाखा काठमाडौंलाई जानकारी गराइसकेको छ । स्थानीय गोपाल घिमिरेले समयमै पुल नबनाए ठूलो जोखिम हुन सक्ने बताए । उनले भने, ‘हामीले पुल जीर्ण बन्दै गयो भनेर सडक डिभिजनलाई पटक–पटक भन्दै आएका छौं । तर सडकले मर्मतमा चासो देखाएको छैन ।’
